महिला उम्मेदवारको प्रचार शैलीः मन जित्न घरघरमै

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ ।

पुरुष उम्मेदवारले घरदैलोका साथै प्रचारप्रसारका सामग्री छापेर, ठाउँ–ठाउँमा जमघट, चिया पसलमा गफगाफजस्ता प्रचार शैली देखिन्छ तर महिला धरैजसो घर–घरमै गएर मतदाताको विश्वास जित्ने प्रचार शैली अपनाएका छन् ।

काठमाडौँ महानगरपालिका–८ बाट नेपाली काँग्रेसका तर्फबाट खुल्ला सदस्य उम्मेदवार इन्दिरा भण्डारी बिहानदेखि–बेलुकासम्म मतदाताको घर–घरमा भोट माग्न व्यस्त छन ।

उनले भनिन–‘महिला उम्मेदवारलाई चुनावका अत्यधिक प्रचारप्रसार सामग्री छाप्न पर्याप्त पैसा पनि छैन, महिलालाई कामको पनि बोझ धेरै छ, जसले गर्दा चिया पसलमा बिहानै र बेलुकासम्म प्रचारमा निस्कन गाह्रो छ ।’

महिला राजनीतिमा कम हुनाका कारण राजनैतिक मूल्य र मान्यताको कमी, परिवार र संस्थागत सहयोगको कमी, सुरक्षाको कमी, राजनीतिमा अपराधीकरणले गर्दा पनि भएको उल्लेख गर्दै उनले समाजमा पराम्परागत मूल्य र विश्वासले गहिरोरुपमा जरा गाडेको हुँदा कामको मूल्याङ्कन नहुनु, अर्थपूर्ण सहभागिता, विभेदकारी नीतिले गर्दा सक्षम महिला ओझेलमा परेको नेत्री भण्डारीको बताइन ।

उनले भनिन–‘अवसर पाएमा महिला नेतृत्व गर्न र जिम्मेवारी लिन सक्षम छन्, चुनावमा विजयी भएर राजनीतिमा पुरुषको एकाधिकार तोडी महिलाको समग्र विकास र खुसीका लागि काम गर्नका लागि मेरो उम्मेदवारी हो ।’

महिलालाई परिवार व्यवस्थापन, बालबच्चा हेरचाह गरेर मात्र राजनीतिमा आउनुपर्ने भएकाले महिला चियापसलमा एकाबिहानैदेखि बेलुका अबेरसम्म भेला भएर भोट माग्ने अवस्था छैन । राजनीतिका साथै महिलालाई पारिवारिक जिम्मेवारी पनि त्यत्तिकै छ ।

तारकेश्वर नगरपालिकामा राष्ट्रिय जनमोर्चा पार्टीबाट नगरप्रमुखका उम्मेदवार रमा शर्मा गौतमको पनि प्रचारशैली उस्तै छ । उनले भनिन–‘निर्वाचनमा असाध्यै धेरै मेहनत गरेको छु, चुनाव प्रचारप्रसार सामग्री छाप्नुमा भन्दा पनि मतदाताको घरघरमा भएर भोट मागेको छु ।’

प्रचार सामग्री छापेरभन्दा पनि मतदाताको घरघरमा पुगेर उनीहरुको दुःखसुख बुझेर भोट माग्दा आफूलाई चुनाव जित्न सहज हुने नेत्री गौतमको विश्वास छ ।

महिला उम्मेदवार चुनावमा प्रचारका लागि निकै मेहनत गर्छन् । घर–घरमा गएर मतदातासँग आफ्नो कुरा राख्छन् । ठाउँ–ठाउँमा प्रचार टाँसेरभन्दा पनि मतदाताको घरमै गएर भोट माग्दा आफूले मत पाउने विश्वास महिला उम्मेदवारलाई लागेको छ ।

नागार्जुन नगरपालिकामा नेकपा एमालेका तर्फबाट उपप्रमुखकी उम्मेदवार सुशीला अधिकारी अधिकांश मतदाताको घरमा पुग्ने प्रयासमा छन ।

उनले भनिन–‘मतदाताको घरमा पुगेपछि मतदातालाई पनि उम्मेदवारप्रति विश्वास हुन्छ, चिन्दै नचिनेको भन्दा चिनेको र भोट मागेको मान्छेलाई मतदाताले भोट हाल्नुहुन्छ ।

उनलाई घरदैलो नै मतदानको मन जित्ने प्रभावकारी माध्यम हो भन्ने लागेको छ । धेरै महिला उम्मेदवारलाई मतदाताको मन पगालेर चुनावमा जित्छु भने लागेको छ । जति समय भयो त्यति मतदातासँगै भेटेर मत माग्ने महिला उम्मेदवारको सोच देखिन्छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यही वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या १९ हजार ३३२ (३९.१८४ प्रतिशत) कायम भएको छ ।

नगरप्रमुख तथा अध्यक्षमा महिला १५७ (८.३५ प्रतिशत), नगरउपप्रमुख तथा उपाध्यक्षमा महिला ८१.४३ प्रतिशत उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा महिला ४४८ (४.१७ प्रतिशत) जना रहेका छन् ।

यसैगरी, महिला वडा सदस्य नौ हजार ८३ र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । रासस