गुल्मीमा आमाछोराले एउटै डोरीमा झुन्डिएर आत्महत्या

मानसिक तनाव कारण आत्महत्या गरेको प्रहरीको दावी

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिककोे डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

शीतलका श्रीमान् पदम परिवार भने रोजगारीका लागि दुबईमा काम गएका छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए ।

केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् ।

छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको समेत बताए ।