एटिएम ठगी गरेको आरोपमा ६ जना व्यवसायी पक्राउ

करिब तीन करोड ३१ लाख रुपैयाँ ठगी गरेका आरोप

काठमाडौं । नक्कली एटिएम कार्डमार्फत ठगी गर्दै आएको सुरेश केसी नेतृत्वको गिरोहलाई सहयोग गरेको आरोपमा ६ जना व्यवसायी पक्राउ परेका छन् ।

प्वाइन्ट अफ सेल (पिओएस) मेसिन दुरुपयोग गरी ठगीमा सहयोग गर्नेहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिबिक्रम शाहले पक्राउ गरेको बताएका हुन ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखराको टिकाज रिसोर्टका सञ्चालक टीका पौडेल, लाजिम्पाटको टनेल क्लबका सञ्चालकद्वय निश्चल रेग्मी र अमृतशमशेर राणा, ठमेलस्थित डी सोभनियर पसलका सञ्चालक नदिम खान, लिक्वायर सपका सञ्चालक मिङमा शेर्पा तथा पौराणिक थांकाघरका सञ्चालक विजय लामा रहेका छन ।

दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको सुरेश केसी नेतृत्वको गिरोहका सातजनालाई महानगरीय अपराध महाशाखाले गत ६ चैतमा पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीहरूले व्यवसायीहरूको मिलेमतोमा ठगी गर्दै आएको खुलेसा गरेका हुन ।

उनीहरूले पिओएस मेसिन उक्त समूहलाई दिएर आफूहरूले कमिसन लिएको प्रहरी अनुसन्धानमा खुलेपछि पक्राउ गरी बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी शाहले बताए ।

उक्त समूहले तीन करोड ३१ लाख रुपैयाँ ठगी गरेका थिए । गिरोहमा भारतीय नागरिक अभिषेक पाण्डेसहित केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान लगाएतका व्याक्ति रहेका छन । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेको प्रहरी जनाएको छ ।

मुख्य नाइके केसीले नै दिल्लीबाट मेग्नेटिक स्ट्रिप रिडर र राइटर मेसिन खरिद गरी ल्यापटपमा सोही मेसिन जडान गरी खाली कार्डमा चोरीका डाटा भरेर नक्कली एटिएम कार्ड बनाएका थिए ।