भरतपुर महानगरलाई आधुनिक र समुन्नत शहर बनाउने मेयर पदकी उम्मेदवार रेणु दाहालको उद्घोष

दहाललाई जिताउन भोलि माओवादी, कांग्रेसको संयुक्त कार्यक्रमः प्रचण्ड र देउवाले सम्बोधन गर्ने

चितवन । कांग्रेस र माओवादीको केन्द्रीय स्तरदेखिको तालमेलका आधारमा दुबै पार्टीको साझा मेयर पदको उम्मेदवार रेणु दहालले भरतपुर महानगरलाई आधुनिक र समुन्नत शहर बनाउने उद्घोष गरेकी छन । देशक मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको भरतपर महानगरपालिका धेरै हिसाबले महत्वपूर्ण र सम्भावनाले भरिएको महानगरपालिकाको रुपमा रहेको छ ।

मेयर पदकी उम्मेदवार दहालले महानगरलाई ब्यवस्थीत विकासको परिकल्पना सहित आफुले उम्मेदवारी दिएको बताउँदै त्यस्तो उद्घोष गरेकी हुन । उनले महानगरलाई देशकै नमुना, व्यवस्थित र आधुनिक शहर बनाउँदै प्रशस्तै सम्भावनाको महानगर बनाउने संकल्पले बोकेको बताइन ।

उनले भनिन–‘चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको केन्द्र बनाउने मेरो लक्ष्य छ । सहरीकरणलाई व्यवस्थित बनाउन सहरलाइ केन्द्रीत नयाँ योजनाहरु मैले बनाएकी छु । यहाँ भित्री र अर्को बाहिरी चक्रपथको योजना मैल बनाएकी छु । सडक, पानी, बिजुली, सिँचाइलाई थप व्यवस्थित बनाउनेछौँ ।’

उनले आफ्नो योजना सुनाउदै भनिन–‘देवघाटदेखि गोलाघाटसम्म जलयात्राका लागि कार्यक्रम चलाएर पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने, खाली भूमिलाई पर्यटकीय गन्तव्य बनाउने र चितवनलाई राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा परिचित बनाउने योजना हाम्रो छ । हामीले भरतपुरलाई एक नमूना शहरको रुपमा विकास गर्ने प्रतिबद्धता गरेका छौ । जनताको पनि हाम्रो पक्षमा राम्रो सहयोग रहेको छ ।’

त्यसैगरी माओवादी कांग्रेसको संयुक्त प्यानलाई जिताउनका लागि चितवनमा दुई पार्टीका शिर्ष नेतृत्वहरु नै प्रचार प्रसारमा होमिने भएका छन । दुबै पार्टीको सयुक्त रुपमा उम्मेदवार उठाएका कांग्रेस माओवादीले बिहीबार उम्मेदवारलाई भोट माग्नका लागि संयुक्त सभा गर्ने तयारी समेत गरेको छ ।

भोलि हुने संयुक्त सभालाई कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने नेताहरुले हरपल नेपालसँग बताएका छन । प्रधानमन्त्री प्रचण्ड पुत्री रेणुलाई जिताउन भरतपुरका अधिकाशं स्थानीयवासीहरुनै सक्रिय भएर प्रचारमा लागेको नेताहरुले बताएका छन ।

त्यसैगरी कांग्रेस माओवादीले संयुक्त रुपमा उम्मेदवारी दिएर भरतपुरमा एमाले हराउ अभियान चलाएको भन्दै यतिबेला एमालेले भरतपुरबाट पार्टीलाई जिताउन केन्द्रदेखिकै सम्पूर्ण बल प्रयोग गर्ने भएको छ । उसले मतदाताहरुलाई आकर्षित गर्नका लागि काग्रेस माओवादीका असन्तुष्ट कार्यकर्ताको मत तान्ने निति अघि बढाएको श्रोतले बताएको छ ।

भरतपुरको मेयरमा एमालेबाट केन्द्रीय सल्लाहकार समेत रहेका देवी ज्ञवाली मेयरमा तथा विद्या बज्राचार्य उपमेयरमा उठेका छन, तर उनीहरुको चर्चा भने संचारमाध्यम र जनतामाझ कमै मात्र भएको स्थानीय नेताहरु बताउछन ।

एमालेका उम्मेदवारले स्थानीय तहमै बसेर लामो समयदेखि राजनीतिमा सक्रिय भएकाले आफुहरुलाई मतदान गर्न आग्रह गरेका छन । उनीहरुले जितेमा सबै पार्टीका कार्यकर्ता, आम जनताको भावनाको कदर गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन ।

भरतपुरमा भोलि कांग्रेस माओवादीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको तयारी गरेसँगै एमालेले पनि भोलिनै पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चौबिसकोठीमा बृहत् चुनावी आमसभा गर्ने तयारी गरेको छ । यद्यपि, अध्यक्ष ओलीलाई उपस्थितिका निम्ति आग्रह गरिए पनि समय भने निश्चित भैनसकेको एमालेले जनाएको छ ।

तालमेल बलियो बनाउँदै गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई जिताउन बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा सभा गर्ने तयारी गरेपछि एमालेले पनि ‘काउन्टर’मा सोही दिन बृहत् चुनावी सभाको तयारी गरेको माओवादीका नेताहरुले बताउँछन।

कांग्रेस माओवादीको तालमेल बलियो बनेपछि त्यहाँ माओवादी केन्द्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पुत्री रेणुको जित करिब करिब निश्चित जस्तै बनेको धेरैले पूर्व अनुमान समेत गर्ने गरेका छन । त्यहाँबाट संयुक्त प्यानलकै जित हुने कांग्रेस नेताहरुले दाबी गरेका छन ।