यसरी हुँदै छ महानगरमा मेयरको प्रचारः सामाजिक सञ्जाल र मिडियामा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारले चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । योसँगै उनीहरूको व्यस्तता पनि बढेको छ ।

कांग्रेस:  महानगरमा कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीको दैनिकी निकै व्यस्त छ । बिहान ४ बजे उठिसक्छन् । नित्य कर्म सक्दानसक्दै घरमा कार्यकर्ता जम्मा भइसक्छन् ।

कार्यकर्ता दिनभरको चुनावी प्रचार योजना बनाउने थाल्छन् । उनी भने फोन सम्पर्कमा व्यस्त हुन्छन् । हल्का ब्रेकफास्ट लिएपछि घरदैलो कार्यक्रममा निस्कन्छन् ।

उनी १२ बजेसम्म घरदैलोमा व्यस्त हुन्छन् । त्यसपछि चुनावी प्रचारप्रसारका लागि खोलिएको बागबजारस्थित कार्यालय पुग्छन् । केही समय अन्तर्वार्ता दिन्छन् ।

अनि पुनः घरदैलोमा निस्कन्छन् । उनको घरदैलो राति १० बजेसम्म जारी रहन्छ । उनले भने–‘साता दिनदेखि व्यस्त सेड्युलमा चल्नुपरेको छ । खाना खाने फुर्सदसम्म छैन । घरदैलो, कोठेबैठक, योजना निर्माण र मिडियासँगको अन्तर्वार्तामै दिन बितेका छन् ।’

एक सातामा डेढ सय अन्तर्वार्ता: चुनावी प्रचार गर्न उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन् । सात दिनमा उनले मिडियालाई मात्रै डेढ सयभन्दा धेरै अन्तर्वार्ता दिइसकेका छन् ।

सामाजिक सञ्जालमा उनकै नाममा फेसबुक पेज छ । पेज अपलोड गर्न कार्मचारी नै खटाएका छन् । ‘चुनाव जसरी पनि जित्नु छ । प्रचारप्रसार नगरी हुँदैन । यसका लागि मिडिया र सामाजिक सञ्जाल दुवै प्रयोग भएका छन्,’ उनले भने ।

माओवादी उम्मेदवार डंगोललाई खाना खाने फुर्सद छैन: माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोल पनि प्रचारप्रसारमा दह्रिलो ढंगले उत्रिएका छन् । चुनावकै लागि भनेर उनी बिहान ५ बजे उठिसक्छन् ।

बिहान ६ बजदेखि घरदैलो कार्यक्रम सुरु हुन्छ । कोठेबैठक, राजनीतिक भेटघाट र घरदैलो कार्यक्रम सकिँदा दिउँसो १ बज्छ । खानाको कुनै टुंगो छैन । कार्यक्रम सकिएपछि असनमा खोलिएको अस्थायी कार्यालय पुग्छन् । चुनावी प्रचारप्रसारसम्बन्धी रणनीति बनाउँछन् ।

केही मिडियालाई अन्तर्वार्ता दिएपछि पुनः घरदैलो कार्यक्रम सुरु हुन्छ । रातको १० बजेसम्म उनी घरदैलोमै व्यस्त रहन्छन् । प्रचारप्रसारका लागि मिडिया र सामाजिक सञ्जाल दुवै बराबर प्रयोग गरेका छन् उनले । दैनिक १० भन्दा धेरै अन्तर्वार्ता मिडियालाई दिन्छन् । उनकै नाममा फेसबुक पेज छ ।

उनले भने–‘प्रचारप्रसारको जमाना छ । चुनावमा त झन् प्रचारप्रसार निकै आवश्यक छ । सात दिनदेखि यसैमा व्यस्त छु । सामाजिक सञ्जाल पनि प्रयोग गरेको छु । पर्चा पनि छपाएको छु, ।’

एमाले: एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न प्रचारप्रसारका सबै शैली अपनाएका छन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । कालो चियासँगै उनी अन्तर्वार्ता दिन थाल्छन् । कार्यकर्ता भने दिनभरका चुनावी सेड्युल बनाउँछन् ।

६ बज्दानबज्दै घरदैलोमा निस्कन्छन् । मध्याह्न १२ देखि १ बजेसम्म घरदैलो र कोठेबैठक चल्छ । त्यसपछि चुनावका लागि खोलिएको सम्पर्क कार्यालय पुग्छन् । केही बेरपछि पुनः घरदैलो कार्यक्रमका लागि निस्कन्छन् । यो क्रम रातको १० देखि ११ बजेसम्मै चल्छ ।

पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार:  प्रचारप्रसारका लागि उनले मिडिया र सामाजिक सञ्जाल दुवैलाई भरपुर प्रयोग गरेका छन् । दैनिक दर्जनभन्दा धेरै मिडियामा अन्तर्वार्ता दिन्छन् । स्थानीय निर्वाचनका लागि भनेर पार्टीले खोलेको मिडिया सेन्टरमार्फत प्रचारप्रसार गर्न हतपत चुक्दैनन् ।

उनकै नाममा फेसबुक पेज छ । उनले भने–‘चुनावमा प्रचारप्रसार गर्न आवश्यक छ । यसका लागि घरदैलोदेखि मिडिया, सामाजिक सञ्जाल प्रयोग गरेको छु । पार्टीले पनि प्रचारप्रसारमा सहयोग गरेको छ । कार्यक्रममा केन्द्रीय तहका नेता पनि सहभागी हुन्छन् । यसले प्रचारप्रसारलाई निकै सहयोग गरेको छ ।’

साझा पार्टीका उम्मेदवार थापाको हाइटेक प्रचार शैली:  साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए ।

विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् ।

यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् । उनले भने–‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ, ।’

संघीय समाजवादीका बज्राचार्य घरदैलो र सामाजिक सञ्जाल दुवैमा सक्रिय:  संघीय समाजवादी फोरम तथा नयाँ शक्ति नेपालका तर्फबाट मेयरका उम्मेदवार पवित्र बज्राचार्यले पनि चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

घरदैलो, मिडिया तथा सामाजिक सञ्जाल सबैलाई उनले प्रयोग गरेका छन् । बिहान ६ बजेदेखि नै उनको घरदैलो कार्यक्रम सुरु हुन्छ । यो क्रम बेलुका १० बजेसम्म नै चल्छ ।

४० भन्दा धेरै मिडियामा उनले अन्तर्वार्ता दिइसके । सामाजिक सञ्जालका लागि उनको आफ्नै नाममा फेसबुक पेज छ उनले भने–‘प्रचारप्रसार नगरी चुनाव जित्न सकिन्न । यसका लागि घरदैलोदेखि मिडिया प्रयोग गरेको छु । अन्तर्वार्ता दिन्छु । फेसबुक प्रयोग गर्छु । प्रचारप्रसारका लागि कार्यालय पनि छ । साथीहरू यसमा सक्रिय छन्, ।’

ललितपुर
उम्मेदवारहरू बिहान– बेलुका घरदैलोमा: ललितपुर महानगरपालिकाका प्रमुख दलका मेयरका उम्मेदवारहरूले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएका छन् । दिउँसो चर्को गर्मी भएपछि उम्मेदवारहरूले बिहान र बेलुकाको समयलाई घरदैलो प्रचारप्रसारका रूपमा उपयोग गर्ने गरेका छन् ।

महानगरमा मेयरका उम्मेदवार तीनैजना नेवार समुदायका भएकाले आफ्नो पक्षमा मत पार्न उनीहरू सक्रिय ढंगले लागेका छन् । सबै क्षेत्रमा पुग्ने गरी कार्यतालिका बनाएका छन् ।

ललितपुर महानगरका २९ वडामा कुल १ लाख १२ हजार ९ सय २२ मतदाता छन् । महानगरको मेयरमा दलका र स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसका मेयर उम्मेदवार महर्जन बिहानदेखि रातिसम्म घरदैलोमै:  महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरका उम्मेदवार हुन् । बिहान ७ देखि राति साढे ११ बजेसम्म घरदैलो कार्र्यक्रम गर्दै आएको उनी बताउँछन् ।

पार्टीले बनाएको कार्यतालिकाअनुसार चुनाव प्रचारप्रसार गर्ने गरेको महर्जनले बताए । मत आफ्नो पक्षमा पार्न महर्जन कोणसभा, भेला, अन्तक्र्रियामा सहभागी हुने गरेका छन् ।

मतदाताको अनुकूलता हेर्दै प्रचारमा एमाले उम्मेदवार व्यञ्जनकार:  ललितपुर महानगरबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदाताको अनुकूलता हेरेर चुनाव प्रचारप्रचार गर्दै आएका छन् ।

महानगर सहरी क्षेत्र भएकाले मतदाताको अनुकूलता हेरेर घरदैलो तथा भेटघाट गर्ने गरेको व्यञ्जनकारले बताए । बिहान ४ बजे नै उठेर आफ्ना कार्यक्रम बनाएर प्रचारप्रसारमा लागेको उनले बताए ।

उनी पनि बिहान ७ देखि राति ११ बजेसम्म घरदैलो तथा भेटघाटमा व्यस्त छन् । दिउँसोको समयमा बिहानबेलुका भेट्न नसकेका मतदातालाई भेट्ने गरेको व्यञ्जनकारले बताए । वडावडामा मोटरसाइकलसँगै पैदल प्रचारप्रचारमा लागेको उनको भनाइ छ ।

माओवादीका उम्मेदवार दीपेश आक्रामक ढंगले प्रचारप्रसारमा:  ललितपुर महानगरबाट माओवादी केन्द्रका मेयर उम्मेदवार दिनेश महर्जन दीपेशले नियमित कार्यतालिका बनाएर प्रचारप्रसारलाई आक्रामक बनाएका छन् ।

बिहान ७ देखि ११ बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म घरदैलो, कोणसभा र अन्तत्र्रिmयामा सामेल हुने गरेको उनले जनकारी दिए ।

दिउँसोको खाली समयमा मतदातालाई प्रत्यक्ष रूपमा भेटेर आफ्नो पक्षमा मत पार्न लाग्ने गरेका छन् । चुनाव प्रचारप्रसार गर्दा माओवादीले भौगोलिक अवस्थाअनुसार गाडी र मोटरसाइकलको व्यवस्था गरेको छ ।

सहरको सुन्दरतालाई मध्यनजर गर्दै पर्चा, पम्प्लेट, ब्यानर कम प्रयोग गरिएको दीपेशले बताए । सूचना प्रविधिको विकासले मत आफ्नो पक्षमा पर्ने भएकाले समाजिक सञ्जाललाई पनि व्यापक रूपमा प्रयोग गरिएको छ ।

भरतपुर
घरदैलो, कोणसभा, र्याली, माइकिङको प्रचार शैली: भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । कांग्रेसले माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ ।

माओवादीले उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहलाई समर्थन गर्ने भएको छ । तालमेलपछि दुवै पार्टीले संयुक्त रूपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

घरदैलो, कोणसभा, र्याली, माइकिङको प्रचार शैली: महानगरमा उम्मेदवारसहित घरदैलो, कोणसभा, र्याली, माइकिङ गर्दै प्रचारप्रसारमा कांग्रेस र माओवादी केन्द्र लागिरहेका छन् । माओवादी केन्द्र र कांग्रेसले संयुक्त सभा र घरदैलो गरिरहेका छन् ।

प्रचारप्रसारका लागि धेरै दिन बाँकी नरहेकाले शीर्ष नेता नै ल्याएर संयुक्त चुनावी सभा गर्न लागेका हुन् । संयुक्त रूपमा गरिने प्रचारप्रसारबाहेक दुवै दलले सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, भिडियो सेयरिङ साइट, युट्युबबाट आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

संयुक्त रूपमा घरदैलो गर्नेदेखि झन्डै एक सय कोणसभा यी दुई दलले गरिसकेका छन् । जिल्लामा आठ सदस्यीय चुनाव परिचालन समिति गठन गरेर यसअन्तर्गत चुनाव प्रचार गरिरहेका छन् । प्रचारमा उम्मेदवारहरू बिहान सात बजेदेखि बेलुका ६ बजेसम्म खटिँदै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।