निर्वाचनलगत्तै मतगणना गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने–‘वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ ।’

स्थानीय तह निर्वाचन ऐनमा मतदान अधिकृतले गाउँपालिका÷नगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्ने व्यवस्था छ ।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्‍याउनुपर्छ ।

आयोगका एक अधिकृतले भने–‘साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ । जेठ ३१ गते निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ । तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ ।’

प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा पनि एमाले नेताहरूले मतदानलगत्तै मतपेटिका गणना गर्नुपर्ने माग गरेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने–‘पहिलो र दोस्रो चरणको निर्वाचनबीच किन यति लामो ग्याप भनेर एमालेले बारम्बार प्रश्न गर्दै आएको छ । मतपेटिकाको सुरक्षाको प्रश्न गम्भीर रूपमा उठेकाले मतदानलगत्तै मतगणना गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं ।’

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ४९ हजार तीन सय ३७ जना उम्मेदवारले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा ३० हजार पाँच सय पुरुष र १९ हजार तीन सय ३२ महिला उम्मेदवार बनेका छन् । पुरुषको ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत उम्मेदवारी परेको आयोगले जनाएको छ ।

आयोगले मनाङ, डोल्पालगायत केही हिमाली जिल्लाका मतपेटिका सम्बन्धित तहमा पुर्‍याउन हेलिकोप्टरको प्रयोग गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने–‘निर्वाचन सम्पन्न भएको तीन घन्टाभित्र मतदान अधिकृतको कार्यालयसम्म मतपेटिका पुर्‍याउने तयारी छु,आवश्यक परे केही ठाउँमा हेलिकोप्टरबाट मतपेटिका ओसारपसार गर्नेछौं ।’

आयोगले मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।