संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्यो

२९ गते देशभर विरोधसभा गर्ने

काठमाडौ । संघीय गठबन्धनले सरकारसँग भएको सहमति अनुसार वैशाख ३१ गते हुने पहिलो चरणको चुनावअघि संविधान संशोधन विधेयक पारित हुने सम्भावना नदेखिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज बसेको संघीय गठबन्धनको बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्याली सहित विरोधको कार्यक्रम घोषणा गरेको जनाएको छ ।

गठबन्धनका नेताहरुले सरकारसँग भएको सहमति अनुसार वैशाख ३१ गते भित्र संविधान संशोधन विधेयक पारित गराउने विषयमा आज सत्तारुढ दल र प्रधानमन्त्री दाहालसँग समेत भेटवार्ता गरेका थिए।

सत्तारुढ दलले संशोधन विधेयक पारित नगराई जेठ ४ गतेसम्मका लागि संसद बैठक सारेको भन्दै संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताइएको छ ।

जेठ ४ गते बस्ने संसदको बैठकबाट संशोधन विधेयक पारित नभए थप सशक्त आन्दोलनका कार्यक्रम तय गर्ने समत संघीय गठबन्धनले चेतावनी दिएको छ ।