निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा बाग्लुङबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

पक्राउ कार्यकर्ता रिहा नगरे कडा आन्दोलन गर्ने नेकपाको चेतावनी

बाग्लुङ । निर्वाचन बहिष्कारको अभियान संचालन गरिरहेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ति युवाले स्थानीयय निकायको निर्वाचनका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन धम्क्याउदै आएको र उम्मेदवारी फिर्ता नलिए आक्रमण गर्ने त्रास फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बाग्लुङको बुर्तिबाङबाट नेकपाका जिल्ला सदस्य हरि कुवँर र भिमगिठेर भन्ने स्थानबाट नरबहादुर क्षेत्रीलाई निर्वाचन विरोधी गतिबिधी गरिरहेको अवस्थामा पक्राउ गरेको हरपल नेपाल डटकमसँगको कुराकानीमा बताएको छ ।

बाग्लुङकमा प्रहरी प्रमुख चन्द्र कुवेँर खापुङले भने–‘देश निर्वाचनमा होमिएको बेला निर्वाचनमा शान्ति ब्यवस्थाको जिम्मेवारी हामीले पुरा गर्नुपर्छ, हामीले निर्वाचनको विरोधमा जनतालाई धम्क्याउने, उम्मेदवारलाई धम्क्याउने र वातावरण त्रसित पार्ने जो सुकैलाई पनि नियन्त्रणमा लिन्छौ । यो केन्द्रकै आदेश हो । निर्वाचनको लागि जनतालाई ढुक्कको वातावरण बनाउन प्रहरी तैनाथ रहेको छ ।’

उता नेकपाले भने अनावश्यक रुपमा आफ्ना कार्यकर्ताहरुमाथि झट्टा कारणहरु देखाएर प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । उनसले आफ्ना नेता,कार्यकर्ताहरुको रिहा नगरेमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

नेकपाका जिल्ला इन्चार्ज विकिरण क्षेत्रीले पार्टीको निर्णय अनुसार आफुहरु निर्वाचनबाट जनताको हक,अधिकारको रक्षा गर्न नसकिने निष्कर्ष निकालेर निर्वाचन बशिष्कार अभियानमा सक्रिय रहेको बताए । उनले विरोध गर्न पाउने जनताको अधिकारलाई कुठाराधात गरि सरकारले आफ्ना कार्यकर्ता पक्र्राउ गर्ने कार्य नरोके थप कडा आन्दोलनका कार्यक्रमहरु थालिने चेतावनी दिएका छन ।

उनले भने –‘हाम्रा नेता,कार्यकर्ताको रिहाइ तुरुन्त गरिनु पर्यो । हाम्रो पार्टीले निर्वाचनमा भाग नलिन जनतासँग शान्तिपूर्ण रुपमा अभियान चलाएको छ । हामीले उम्मेदारी फिर्ता दिएर सहयोग गर्नका लागि सबै उम्मेदवारहरुलाई समेत आग्रह गरेका छौ । राज्य किन हाम्रो शान्तिपूर्ण अभियानमा हस्तक्षेप गरेर अझै आक्रामक गराउँदै छ ?’