सिन्धुपाल्चोकमा राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचार गर्दै

एमाले कार्यकर्ताद्धारा क्षेत्रीय पार्टी कार्यालयमा ताला बन्दी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरुमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा र केन्द्रीय सदस्य कोमल ओली लागिपरेका छन ।

नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हुँदै छन ।

आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसलगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

एकसयभन्दा बढीको सङ्ख्यामा रहेका कार्यकर्तालाई पशुपति शम्शेर र कोमल ओलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराएका हुन ।

राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणीन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् ।

जिल्लाभरि नै चुनावी माहोलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुख्य चार पार्टीको चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

नगरभरिका गाउँमा नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा एमालेले आआफ्नो पार्टीको प्रचारप्रसारका लागि लाखौँको लगानीमा पार्टीको झन्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् ।

जिल्लाभरि नै आफ्नो सङ्गठन बलियोे बनाउनका लागि नेताहरुले भेला, घरदैलो अभियान, र्याली तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।

चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा एमालेको नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ ।

असन्तुष्ट पक्षमा भएकाबाट नेपाली काँग्रेस र राप्रपालाई फाइदा मिल्नेमा काँग्रेस तथा राप्रपाका नेता बताउँछन् । रासस