अमेरिकी राष्ट्रपति ट्रम्पलाई ओबामाको चेतावनीः फ्लिनलाई सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान

फ्लिनले रुसी राजदूतसँगको सम्पर्कबारे झुटो बोलेको आरोप

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई त्यहाँका पूर्व राष्ट्रपति बराक ओबामाले माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले जनाएको छ ।

ओबामा प्रशासनका अधिकारीहरुका अनुसार नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो सावधानीपूर्ण चेतावनी दिएका हुन् ।

अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग गम्भीर प्रकृतिको कुराकानी गरेको अभियोगमा उनलाई गत फेबु्रअरीमा पदबाट बर्खास्त गरिएको थियो । मंगलबार सिनेट समितिमा रुसी राजदूतसँग गरेको सम्वादले उनीमाथि ब्ल्याकमेल गरिएको आरोप लाग्यो ।

गत सोमबार ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले भने–‘राष्ट्रपति ओबामाले आफु जनरल फ्लिनको खासै प्रशंसक नभएको बताएका छन । तर स्पाइसरले फ्लिनले इस्लामिक स्टेट र अमेरिकालाई जोखिम रहेका अन्य मुद्दाहरुमा राष्ट्रपति ओबामा कठोर रुपमा प्रस्तुत नभएको भन्दै उनको कडा आलोचना गर्ने गरेका छन, त्यसलाई आश्चर्यजनक प्रतिक्रियाका रुपमा लिइएको छ ।’

व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै सन् २०१४ मा ओबामाले फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए। रुसी राजदूतसँगको सम्पर्कबारेका विवरण सार्वजनिक हुनुअघि नै ओबामाले ट्रम्पलाई चेतावनी दिएको र उनले त्यस्तो उच्च तहको पदका लागि उनी उपयुक्त नभएको ठान्ने गरेको एक जना ह्वाइट हाउसका पूर्व अधिकारीले समेत बताएका छन ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा फ्लिनलाई नियुक्त नगर्न शुरुमै सावधान गराइएको अमेरिकी सिनेटरहरुलाई जानकारी दिइएको छ। राष्ट्रपति ओबामा अन्तर्गतको न्याय मन्त्रालयकी कार्यवाहक प्रमुख सेली येटसले कांग्रेसको एउटा समितिमा फ्लिनले रुसी राजदूतसँगको उनको सम्पर्कबारे झुटो बोलेको बताइन्।

पूर्व सैनिक जर्नेल रहेका फ्लिनले ह्वाइट हाउसलाई ढाँटेको कुरा सतहमा आएपछि राजीनामा दिनुपरेको थियो। सेल्ली येट्सले आफूलाई पदबाट बर्खस्त गरिनुअघि ठ्याक्कै दश दिन राष्ट्रपति ट्रम्पको मातहतमा काम गरेकी थिइन्। त्यस क्रममा उनले केही अप्रिय लाग्ने खबरहरु राष्ट्रपति समक्ष पुर्याएकी थिइन्।

सुनुवाइमा उनले गएको जनवरी २६ मा आफुले ह्वाइट हाउसका सल्लाहकारलाई भेट गरि फ्लिनले डिसेम्बरको अन्त्यमा गरेको रुसी राजदूतसँगको भेटका बारेमा उपरराष्ट्रपति र अरुलाई ढाँटेको जानकारी दिएको खुलाईन्। उनका अनुसार रुसी अधिकारीहरुलाई त्यसपछि फ्लिनको ब्ल्याकमेल गर्न सजिलो भएको थियो।

ति कुराहरु सञ्चारमाध्यममा आएपछि येट्सले आफु त्यसको श्रोत नभएको दाबी गरेकीक छन्। उक्त चेतावनी दिइएको १८ दिनपछि मात्रै माइकल फ्लिनलाई राजीनामा दिन लगाइएको थियो र त्यसबिचमा उनले रुस, जापान र अन्य देशका अधिकारीसँग गोप्य सम्पर्कहरु समेत कायम राखेको समेत बताइएको छ । (एजेन्सी/अन्तांष्ट्रिय समाचार संस्थानहरुबाट)