आयोगको तयारी १ जेठबाट मतगणना गर्ने , के भन्छन् प्रमुख दल

सामान्य विषय समेटेर १५ जेठमैं बजेट ल्याउने

काठमाडौं । आगामी ३१ वैशाख पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनको मतगणनाकालागि १ जेठबाट सुरु गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले जनाएका हुन ।

उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिका प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार ३४ जिल्लाका २८३ स्थानीय तहमा मतगणना हुनेछ । निर्वाचन अधिकृत रहेको कार्यालयमा मतपेटिका जम्मा गरेपछि मतगणना सुरु गरिने सचिव मैनालीले जानकारी दिए ।

२८३ स्थानीय तहको निर्वाचनममा उम्मेदवारी दिएका ४९ हजार ३३७ मध्ये १९ हजार ३३२ महिला उम्मेदवार छन् भने अन्य सबै पुरुष नै रहेका छन । आयोगले तयार गरेको अन्तिम तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत छन् ।

आयोगका अनुसार नगरपालिका प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा पुरुष एक हजार ७२३ जना र महिला १५७ जना रहेका छन् ।

त्यसैगरी, नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ उम्मेदवार छन् । त्यसैगरी, वडाध्यक्षमा १० हजार २९६ पुरुष र महिला ४४८ जना रहेका छन् ।

यस्तै, वडा सदस्य दुईजनाका लागि पुरुष १७ हजार ७२९, महिला ९५१, महिला वडा सदस्य नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

आचारसंहिताविपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ ।

नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

त्यसैगरी, निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्ष उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र पेस गर्न भन्दै स्पष्टीकरण सोधेको छ ।

सामान्य विषय समेटेर १५ जेठमैं बजेट

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउन सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । नयाँ कार्यक्रम नसमेटेर आउने त्यस्तो बजेटमा प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको दाबी माओवादी प्रवक्ता पम्फा भुसालले गरिन् ।

भुसालले भनिन–‘सामान्य नीतिगत कुराहरू मात्र समेटेर बजेट ल्याउने कुरा भएको छ, संविधानको व्यवस्थाअनुसार बजेट १५ जेठमै आउँछ, तर बजेटमा सामान्य नीतिगत पक्ष मात्र समेटिन्छन्, नयाँ कार्यक्रम आउँदैनन् ।’

कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि बजेट १५ जेठमै आउने बताए । उनले भने–‘एमाले संविधान संशोधनमा सहमतिमा आए मात्र बजेट सार्न सकिन्छ ।’

के भन्छन् दलहरू

मतदानलगत्तै गणना, सुरेन्द्र कार्की, सञ्चारमन्त्रीः आयोगले दोस्रो चरणको निर्वाचनसम्म मतगणना रोक्न हुन्न भनेको छ । लामो समय मतपेटिका सुरक्षित गर्नेदेखि निर्वाचन अधिकृतलाई सँगै राख्ने अवस्था पनि व्यावहारिक हुँदैन ।

सम्भव भए त्यही राति गन्नुपर्छ, गोपालमान श्रेष्ठ, कांग्रेस नेताः यो संसद्को चुनाव होइन । भोट खसेपछि धेरै दिन राख्नुहुँदैन । हजारौँ उम्मेदवार र भोटरले पनि महिनौँ कुर्नुपर्छ भन्ने पक्ष व्यावहारिक हुन्न । ३१ वैशाखमा चुनाव भएपछि सम्भव भए त्यही रातिबाट नभए १ जेठमा मतगणना हुन्छ ।

हामीलाई मान्य छैन, योगेश भट्टराई, एमाले सचिवः मतदानलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको एकपक्षीय तयारी हामीलाई मान्य छैन । यसले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ । आयोगले अहिले जे गरिरहेको छ, यसले निर्वाचन आचारसंहिता र विश्वव्यापी मान्यता उल्लंघन गर्छ ।