निर्वाचनको मुखैमा लमजुङबाट भरुवा बन्दुकसहित दुई युवा पक्राउ

हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा चलाउने तयारी

लमजुङ । स्थानीय निकायको पहिलो चरणको निर्वाचन हुने दिन आउन हप्तादिन बाँकी रहेको बेला हतियार बनाउदै गरेको अवस्थामा प्रहरीले दुईजना युवाहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनीहरुलाई बेसीशहर नगरपालिका वडा नं ९को भीरकटेरी भन्ने स्थानमा भरुवा बन्दुक बनाउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

हरपल नेपाल डटकमसँग कुरागर्दै लमजुङ प्रहरीका सूचना ड्यटि अफिसरले उनीहरुलाई हतियार बनाउँदै गरेको गोप्य सूचनाका आधारमा हिजो राती पक्राउ गरिएको बताए । उनले पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गग कार्वाहीको प्रकृया अगाडि बढाउने तयारी भैरहेको समेत बताए ।

तर प्रहरीले गरेको सोधपुछको क्रममा भने गाउँमा बाँदर धपाउने उद्देश्यले बन्दुक बनाएको पक्राउ परेकाहरुले बताएको स्थानीयहरुले बताएका छन । पक्राउ परेकाहरु कुनै राजनीतिक दल निकट नरहेको र सामान्य काम गरेर परिवारको लालन पालन गर्दै आएका मानिसहरु भएको स्थानीयवासीको भनाई रहेको छ ।

प्रहरीले हतियार बनाउदै गरेको अवस्थामा एकै परिवारका मनोज विक बर्ष २४ र प्रदीप विक बर्ष १९ का दाजुभाईलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले दुईवटा भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ ।

निर्वाचनको मिति नजिकीएसँगै प्रहरीले सुरक्षा चुनौति आउन सक्ने भन्दै विभिन्न गुन्डा समूह र शंकासपदहरुको सूचि नै बनाएर निगरानी बढाएको छ । प्रहरीले निर्वाचनमा सुरक्षा ब्यवस्था मिलाउन निर्वाचन केन्द्रीत सुरक्षा गस्ती र अनुसन्धान टोलिहरु समेत परिचालन गरेको जनाएको छ ।