जुम्लाको चन्दननाथलाई ‘सपनाको सहर’ बनाउने तीन दलको प्रतिबद्धता

जुम्ला । जुम्लाका तीन ठूला दलले चन्दननाथ नगरपालिकालाई ‘सुन्दर सपनाको सहर’ बनाउने महत्वाकाङ्क्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यस्तो प्रतिबद्धता गरेका हुन् । नेपाली काँग्रेसले जुम्लालाई ६ नं प्रदेशको ‘वैकल्पिक राजधानी’ बनाउने, पाँच वर्षीय अल्पकालीन र २० वर्षीय दीर्घकालीन योजना बनाएर चन्दननाथलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने र स्वदेश तथा विदेशका नगरपालिकासँग यसको भगिनी सम्बन्ध कायम गर्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

मुगुको राराताल र खस भाषाको उद्गमस्थल सिंजा उपत्यका जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि चन्दननाथलाई ‘हब’ को रुपमा विकास गर्ने, चौबिसै घन्टा उज्यालो, स्वच्छ–सुन्दर, हराभरा एवम् समृद्ध सहर बनाउने र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक हरिबहादुर रोकायको नाममा ‘हरिबहादुर म्याराथुन’ मार्गको निर्माण गर्ने योजना रहेको काँग्रेसका नगरप्रमुखका उम्मेदवार कान्तिका सेजुवालले बताए ।

नेकपा एमालेले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको प्रतिबद्धता पत्र जारी गरेको छ । अल्पकालीन योजनामा टाउन प्लानिङ, फोहरमैलाको वैज्ञानिक व्यवस्थापन, हाई अल्टिच्युड टे«निङ सेन्टरको निर्माण सुरुवात गर्ने जनाएको छ ।

धौलीगाड बहुउद्देश्यीय खानेपानी योजना, जुम्लालाई उड्डयन द्वार, एक घर एक रोजगारी, ४० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि गर्ने योजना रहेको नेकपा एमाले नगरप्रमुखका उम्मेदवार शान्तिलाल महतले बताए ।

नेकपा माओवादी केन्द्रले चन्दननाथ नगरपालिकालाई दुई वर्षभित्र नगर पर्यटक रिङरोड, सामुदायिक लाइब्रेरी, मनोरञ्जन पार्क, उज्यालो नगर, नगर आर्थिक विशेष कोष, विद्युत्युक्त उज्यालो सहरसहितको हिमाली जिल्लाको ‘नमुना सहर’ बनाउने योजना घोषणा गरेको छ ।

रारा जोड्ने सडक निर्माण, राष्ट्रियस्तरको रङ्गशाला, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर, स्वच्छ एवम् वातावरणमैत्री नगरका लागि शुद्ध पानी उपलब्ध गर्न ‘एक घर, एक धारोसहित चर्पी, पर्यटकीय केन्द्र र नगर खस सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको नगरप्रमुख अशोककुमार श्रेष्ठले जनाए ।

त्यसैगरी, १५ वर्षमा नगर मेट्रो रेल सेवा, सुरुङमार्ग निर्माण, नगरवासीलाई रु पाँच हजारसम्मको निःशुल्क उपचार खर्च, सञ्चार क्षेत्रलाई नगर व्यवस्था सञ्चालनको प्रमुख अङ्ग, सरकारी तथा प्राइभेट बोर्डिङमा समानस्तरको शिक्षा र निर्यातमुखी उत्पादनमा वृद्धि, उर्बर भूमिलाई ‘विशेष कृषि क्षेत्र घोषणा’ गर्ने योजना रहेको मओवादी केन्द्रले जनाएको छ । रासस