फ्रान्सको राष्ट्रपतिमा एमानुएल माक्रों निर्वाचितः को हुन माक्रों ? (विस्तृत जानकारीसहित)

अमेरिकी राष्ट्रपति ट्रम्पदेखि युरोपेलीहरुको बधाई,ठाउँ ठाउँमा विजय उत्सव

फ्रान्स । युरोपेली मुलुकहरुबिचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका उदार मध्यपन्थी नेता एवं पूर्व अर्थ मन्त्री समेत रहेका एमानुएल माक्रोंल आइतबार भएको दोश्रो तथा अन्तिम चरणको मतदानबाट फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन । माक्रोंलले करिब दुई तिहाई मतले चरम दक्षिणपन्थी राष्ट्रवादी नेतृ मारिन ल पेनलाई पराजित गदैं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

फ्रान्सका मतदाताले देशको इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपतिका रुपमा एमानुएल माक्रोंलाई निर्वाचित गरेसँगै त्यहाँ अहिले विभिन्न स्थानहरुबाट विजयि जुलुश,उत्सवको आयोजना समेत गरिएको छ । माक्रोलका हजारौँ समर्थकहरुले खुशी मनाउँदै दैशको झण्डा फहराउँदै पेरिसको लुभ्र संग्राहलय बाहिर विजयोत्सव मनाएका छन्।

राष्ट्रपतिमा निर्वाचित माक्रोंले विजय उत्सवलाई सम्बोधन गर्दै परिवर्तनको पक्षमा सांसदहरुको समर्थन जुटाउने र हाल विभाजित रहेको फ्रान्सलाई एकताबद्ध बनाउने घोषणा गरेका छन । ३९ वर्षिय माक्रोंले अर्को आइतबारसम्म राष्ट्रपति फ्राँस्वा ओलान्दको उत्ताराधिकारीको रुपमा पदभार ग्रहण गर्ने बताइएको छ ।

प्रक्षेपण गरिएका नतीजा अनुसार माक्रोंले झण्डै ६५ प्रतिशत मत पाएका छन भने उनको प्रतिद्वन्द्वी मारिन ल पेनले झण्डै ३५ प्रतिशत मत मात्र पाएकी छन्। उनका प्रतिद्वन्द्वी मारिन ल पेनले आफ्नो हारले पार्टी अझै बलियो रुपमा प्रस्तुत हुने प्रतिकृया दिएकि छन । उनको पार्टी दल न्याश्नल फ्रन्ट अब सबैभन्दा बलियो विपक्षी दल बनेको उनले बताइन्।

माक्रोललाई युरोपभरबाट बधाई – स्वागत

फ्रान्सको राष्ट्रपति चुनावमा एमानुएल माक्रोंको जितलाई युरोपेली संघ विरोधी नीतिहरुको पराजय भन्दै युरोपभरबाट स्वागत तथा बधाई आइरहेको बताइएको छ । मारिन ल पेनले प्रस्तुत गरेको इयुबाट अलग हुने धारणा पराजित भएकोमा युरोपेली नेताहरु केही आश्वस्त भएको त्यहाँ स्थित विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन ।

उनको जित लगत्तै चान्सलर एङ्गेला मर्कलले टेलिफोन गरि बधाई दिएकी छन् । उनको सफलता बलियो र एकताबद्ध युरोपको विजय भएको चान्सलरले बताइन ।

त्यसैगरी युरोपेली कमिसनका प्रमुख जाँ क्लाउड योङकर, ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे, लगाएतले उनलाई टेलीफोन गरी इयुबाट ब्रिटेनको बहिर्गमनका बारेमा कुराकानी गरेको र बधाई दिएको बताइएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई बधाई दिएका छन । ट्रम्पले समाजिक सञ्जाल ट्विटरमार्फत उनलाई बधाई दिंदै आफूले मिलेर काम गर्न चाहेको बताएका छन्।

के कस्ता छन फ्रान्सका प्रमुख मुद्धा ?

फ्रान्सको सबैभन्दा ठूलो मुद्दा बेरोजगारी हो । २८ वटा इयु सदस्य मुलुकमध्ये फ्रान्समा सबैभन्दा धेरै करिब १० प्रतिशत बेरोजगारी मुलुकको सूचिमा रहेको बताइएको छ । त्यहाँ २५ वर्ष मुनिका प्रत्येक चार जनामा एक जना बेरोजगार छन्। सन् २००८ को आर्थिक मन्दीपछि फ्रान्सले निकै सुस्त प्रगति गरेपनि त्यहाँ श्रंखलावद्ध आतंकवादी आक्रमणपछि आप्रवासन र सुरक्षा पनि प्रमुख मुद्दा बनेका छन ।

राष्ट्रपतिमा निर्वाचित एमानुएल माक्रों को हुन् ?

३९ वर्षीय माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपतिको सूचिमा नाम लेखाउन सफल भएका छन । नयाँ राजनीतिक दल खोलेको एक वर्षमै मुलुको राष्ट्रपति पदमा निर्वाचित बनेसँगै माक्रोंले नयाँ इतिहास रचेका छन्।

उनलाई फ्रान्सको पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका हेरिने गरिएको थियो र उनको जितलाई धोरैले मात्र पत्याएका थिए । युरोपेली संघका समर्थक मध्यपन्थी राजनीतिज्ञ माक्रोंले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खुलेको बताएका छन।

फ्रान्सका धेरै मानिसले तीन वर्ष अघिसम्म राम्ररी नचिनेका माक्रोंको जितले उनको असाधारण सफलताबाट धेरैमाझ चिनाएको छ । उत्तरी शहर एमिएँमा जन्मिएका माक्रोंले पेरिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा आफ्नो अध्ययन गरेका थिए । प्यारिसकै नामी विश्वविद्यालयबाट उनले उच्च शिक्षा हासिल गरेका थिए।

चिकित्सक बाबु, आमाका सन्तान माक्रों राजनीतिमा कसरी अभिप्रेरित भए यो भने धेरैको लागि रुचि र खोजिको विषय बनेको छ । उनले एक इन्भेष्टमेन्ट ब्याङ्कमा समेत केही समयसम्म काम गरेका थिए तर पछि फ्रान्सका निवर्तमान राष्ट्रपति फ्राँस्वाँ ओलान्दको आर्थिक सल्लाहकारका रुपमा काम गरेसँगै उनले राजनीतिक रुपमा आफुलाई दरिलो बनाएको उनी निकटको भनाई रहेको छ ।

ओलान्दले उनको सक्षमताको महसूस गर्दै पछि अर्थमन्त्री समेत बनाएका थिए । सरकारमै भएका बेला ठीक एक वर्ष अघि उनले एन माश भन्ने नयाँ दल खोल्ने घोषणा गरे र त्यसको चार महिना पछि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिए र राष्ट्रपति पदमा उम्मेदवारीको घोषणा गरेका थिए ।

एउटा अभूतपूर्व चुनावी अभियानपछि देशका दुईवटा ठूला परम्परागत राजनीतिक दलहरु सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई पहिलो चरणमै पराजीत गरेपछि उनी अहिले राष्ट्रपति पदमा चुनिएका हुन्।

माक्रोको रोचक प्रेम कथाः आफ्नै शिक्षिका ब्रिजीटसँग बिहे गरे

माक्रों उनको अनौठो प्रेम कथाका कारण पनि फ्रान्समा चर्चित छन्। उनले आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । उनकी श्रीमती ब्रिजीट उनभिन्दा २४ बर्षले जेठी छन ।

उनले नाटक विषय पढाउने आफ्नी गुरुआमालाई १७ वर्षको उमेरमै प्रेम प्रस्ताव राखेका थिए, केही बर्षको लभपछि त्यसको १२ वर्षपछि उनीहरुको बिहे भएको थियो।

ब्रिजीटले उनीसँग दोश्रो बिवाह गरेकी हुन । ब्रिजीटले उनसँग विशे गर्नुभन्दा पहिले नै तीन सन्तान जन्माइसकेकि थिइन । ब्रिजीटले त्यतिबेला आफ्ना पतिसंग पारपाचुके गरेर उनीसँग बिहे गरेकी हुन । माक्रोंको राजनीतिमा उनकी श्रीमतीको केही प्रभाव रहेको समेत चर्चा हुने गरेको छ । उनले आफ्नो चुनावी घोषणापत्रमा समेत शिक्षालाई उच्च प्राथमिकता दिने बताएका छन । -(एजेन्सी/अन्तराष्ट्रिय स‌माचार माध्यमबाट)