डा. बाबुरामले जोगाउलान् आफ्नो विरासतः पार्टीको इज्जत जोगाउन चुनौती
अन्य दललाई हराउन आफुसँग पर्याप्त शक्ति भएको भट्टराईको आंकलन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले २०६४ सालको संविधानसभा चुनावमा सर्वाधिक मत ल्याउने व्यक्ति थिए । तर अहिले स्थानीय तहको चुनावमा उनी उम्मेदवार त होइनन् उनलाई पार्टीको इज्जत जोगाउने चुनौती आएको छ ।
डा. भट्टराईले दोस्रो संविधानसभा चुनाव २०७० सालमा पनि झन्डै १३ हजार ८ सय मतको अन्तरमा चुनाव जिते हुन ।
माओवादी केन्द्रबाट बाहिरिएर नयाँशक्ति पार्टी गठन गरेका डा. भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा कस्तो परिणाम ल्याउलान् भन्ने सबैमा चासोको विषय बनेको छ ।
मनोनयनअघि एक पटक आफ्नै जन्मस्थान रहेको पालुङटार नगरपालिकामा सभा गरेर राजधानी फर्केका उनी फेरि चुनाव प्रचारका लागि गृहजिल्ला तीर झरेका छन् ।
गोरखा जिल्लामा पालुङटार दुइटा नगरपालिका तथा नौवटा गाउँपालिका गरी ११ स्थानीय तह छन् । तीमध्ये नयाँशक्तिले डा. भट्टराईकै गृहनगर भएकाले जसरी पनि जित्नुपर्ने पहिलो सूचीमा पालुङटारलाई राखेको छ ।
भर्खरै गठन भएको पार्टी भए पनि गोरखाका गाउँ र नगरमा नयाँशक्तिको प्रचार बाक्लै छ । अन्य राजनीतिक दलकै हाराहारीमा नयाँशक्तिको प्रचार अभियान देखिन्छ ।
चुनाव प्रचारका लागि पुगेका डा. भट्टराईले भने–‘जनताले मैले रोजेको बाटोमा मत दिन्छन, हिजो पनि जनयुद्धमा साथ दिएकै हुन्, २०६४ र २०७० को चुनावमा पनि जिताए, यसपालि पनि नयाँशक्तिका उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउने छन् ।’
संघीय समाजवादी फोरमसँग चुनावी एकता गरे पनि गोरखामा केही वडा सदस्यबाहेक अन्य सबै स्थान नयाँशक्तिकै तर्फबाट उम्मेदवार खडा भएका छन् ।
माओवादी केन्द्र र नयाँशक्तिको टकरावले गोरखाको परिणाममा अन्य दल हाबी हुने आकलन गर्नेहरू धेरै छन् ।
बार एसोसिएसन गोरखाका अध्यक्ष यादव शर्माले भने–‘नयाँशक्तिले आफ्नै जित त कति हासिल गर्ला भन्ने सकिन्न तर अन्य कसैलाई हराउनका लागि भने ऊसँग पर्याप्त शक्ति छ, । गोरखामा विगतका तीनवटा संसदीय निर्वाचनमा कांग्रेसले जितेको क्षेत्र हो । त्यस्तै दुइटा संविधानसभा चुनावमा माओवादी केन्द्रले जित्यो । २०५४ सालको स्थानीय चुनावमा भने गोरखा नगरपालिकामा एमालेले जितेको थियो ।’