गुन्डा नाइके पक्राउमा प्रहरी सक्रिय बन्दैः ठमेलबाट दीपक मनाङे समातिए

गुन्डाहरुमाथि प्रहरीको कडा निगरानी बढ्दै

काठमाडौं । चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।

मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ ।

निर्वाचनमा सुरक्षा चुनौति भन्दै प्रहरीले केहीदिन अघि मातहतका निकायकालाई गुन्डा नाइकेहरुको सूति सहित पक्राउ गर्न निर्देशन गरेको थियो । प्रहरीले गुन्डा नाइकेहरुको सूचि बनाएर कडा निगरानी बढाएको छ । यो समाचार आजको अन्न्पूर्ण पोस्टमा प्रकाशित छ ।