राप्रपालाई फेरि सरकारमा सहभागि गराउन प्रधानमन्त्रीको कसरत

सरकारमा सहभागी हुन राप्रपा पनि लचिलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा फेरि सरकारमा सहभागि गराउने विषयमा सरकारले कसरत थालेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएपछि असन्तुष्ट बनेको राप्रपा गत बैशाख १८ गते सरकारबाट बाहिरिएको हो ।

राप्रपाका एक नेताले भने–‘जुन विषयमा असन्तुष्टि जनाइएको थियो, सोहि विषयलाई सर्वोच्चले अघि नबढाउनु भनिसकेपछि सरकारबाट बाहिरिनुको औचित्य रहेन ।’

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राप्रपालाई सरकारमा सहभागि गराउन कसरत थालेका छन् ।

राप्रपाका सांसद तथा यसअघि पर्यटन राज्यमन्त्री बनेका परशुराम तामाङले बैशाख २० गते प्रधानमन्त्री कार्यालयमा पुगेर सरकारबाट बाहिरिएकोबारे राजीनमापत्र बुझाएका थिए ।

तर सो पत्र अहिलेसम्म प्रधानमन्त्रीले स्वीकृत गरेका छैनन् बरु फेरि सरकारमा सहभागि गराउन कसरत थालेका हुन् ।

राप्रपा सरकारबाट बाहिरिएपनि गाडी र सेक्युरिटी भने फिर्ता भएको छैन । राजीनामा स्वीकृत नभएकाले गाडी र रेक्युरिटी फिर्ता नभएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री र राप्रपा अध्यक्ष थापाबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा महाभियोग प्रस्तावमा सर्वोच्चको फैसला, स्थानीय चुनाव र संविधान संशोधनका साथै सरकारमा फेरि सहभागि हुने विषयमा छलफल केन्द्रीत रहेको थियो ।

प्रचण्ड सरकारमा कमल थापा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, दिलनाथ गिरी पर्यटन मन्त्री, दीपक बोहरा आपूर्त मन्त्री र विक्रम पाण्डे भूमिसुधार मन्त्री रहेका थिए भने पर्यटन राज्यमन्त्रीको रुपमा परशुराम तामाङ रहेका थिए ।