शून्य दरबन्दीमा कालिकोटका ९९ सरकारी विद्यालय

विद्यालय तहमा ६६ हजार २० जना विद्यार्थी अध्ययनरत

कालिकोट । कालिकोटमा ९९ सरकारी विद्यालय विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा शिक्षक दरबन्दीविनै सञ्चालन भइरहेका छन् ।

जिल्ला शिक्षा कार्यालयका अधिकारी विष्णु तिवारीका अनुसार केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन दिएको भएपनि तर कालिकोटका जिल्लाका ९९ विद्यालयले वर्षौँसम्म शिक्षकको राहत कोटासमेत पाएका छैनन ।

उक्त जिल्लामा अहिले दुई सय ९४ सामुदायिक र १२ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका र सरकारले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क बनाए पनि शिक्षक दरबन्दी नहुँदा सरकारकै नीतिमा चुनौती थपिएको जिल्ला शिक्षा अधिकारी तिवारीले बताएका हुन ।

त्यसतै दुर्गम क्षेत्रका रूपमा चिनिने कर्णालीको कालिकोटमा गत चैतमा सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा छात्रभन्दा छात्राको संख्या धेरै रहेको जिशिअ तिवारीले जानकारी दिए ।

एसइईमा सहभागी भएका चार हजार ७३ विद्यार्थीमध्ये छात्राको संख्या दुई हजार एक सय ५४ र छात्रको संख्या एक हजार नौ सय १९ थियो । अहिले कक्षाकोठामा पनि छात्रभन्दा छात्राको संख्या धेरै देखिने गरेको उनले बताए ।

जिल्ला शिक्षा अधिकारी तिवारीले भने–‘अनुगमनमा जाँदा जुन कोठामा गयो त्यसमा छात्रा बढी देखिन्छन्, जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका विद्यालय तहमा ६६ हजार २० विद्यार्थी अध्ययनरत छन् ।

कर्णालीका विद्यार्थीलाई आकर्षित गर्न सरकारले प्रोत्साहनका धेरै कार्यक्रम ल्याएको छ । प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजासमेत दिने गरेको छ ।

खाजा ल्याउने विद्यार्थीलाई प्रतिदिन २० रुपैयाँको दरले रकम दिने गरिएको छ । खाजाका साथै निःशुल्क पुस्तक तथा छात्रवृत्तिको सुविधा दिएको छ ।

कक्षा १ देखि ५ सम्म एक हजार र ६ देखि ८ सम्मका विद्यार्थीलाई एक हजार पाँच सयका दरले छात्रवृत्ति दिँदै आएको जिल्ला शिक्षा अधिकारीले बताए ।

विद्यालयमा विद्यार्थीका गुनासा सुन्न र समस्या समाधानका लागि उजुरी पेटिकासमेत राखिएका छन् । उजुरी पेटिकामा शिक्षक, विद्यालय सबैको उजुरी आउने र समाधान गर्न सहयोग भएको जिशिअ तिवारीले बताए ।

विद्यार्थीको उपस्थितिअनुसार अभिभावकलाई रेकर्ड कार्डसमेत पठाउने गरिएको छ । अघिल्लो वर्ष एक सय आठ विद्यालयबाट सुरु गरेको यो कार्यक्रम यस वर्ष जिल्लाभर प्रयोग गर्ने जिशिअ तिवारीले बताए ।