एक वर्षमा ६५ जना बाकसमा फर्किए , ६७ जना महिलाको उद्धार

यूएई । वैदेशिक रोजगारीका लागि यूएई गएका युवामा एक वर्षको अवधिमा ६५ जना युवाको निधन भएको छ ।

२०७३ सालमा मात्र ६५ जनाको शव नेपाल पठाइएको नेपाली दूतावास यूएईले जानकारी दिएको छ ।

दूतावासका अनुसार यूएईमा काम गर्नेमध्ये मुटुको समस्या, आत्महत्या, सडक दुर्घटना, कार्यस्थलको दुर्घटनालगायतका कारणले मृत्यु हुने गरेको छ ।

पछिल्ला दिनमा हर्टअट्याक (हृदयघात) र आत्महत्याका कारण मर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको दूतावासले जानकारी दिएको छ । यूएईमा २ लाख ४ हजार १ सय ६ जना नेपाली कामदार कार्यरत रहेको आधिकारिक तथ्यांक छ ।

६७ जना महिलाको उद्धार

रोजागारीका क्रममा विभिन्न कारणले समस्यामा परेका ६७ जना महिलालाई नेपाली दूतावास यूएईले नेपाल फिर्ता पठाएको छ ।

एक वर्षको अवधिमा कम्पनी बन्द हुने, रोजगारदाताले पारिश्रमिक नदिने, दुव्र्यवहार गर्नेलगायतका कारण अलपत्रमा परेका महिलालाई उद्धार गरी नेपाल पठाइएको नेपाली दूतावास यूएईका सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए ।
अहिले पनि दूतावासको सेफ हाउसमा नौजना महिला रहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले संस्थागत रूपमा घरेलु कामदारका रूपमा यूएईमा आउन पाउने व्यवस्था गरेपछि गएको आर्थिक वर्षमा मात्र १ सय ६० जना महिला घरेलु कामदारका रूपमा यूएई आएको दूतावासले जनाएको छ ।

यसअघि परिवारका सदस्यका रूपमा, भिजिट भिसामार्फत आएर घरेलु कामदारका रूपमा काम गर्दै आएका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।