असंवैधानिक आदेश खारेजको माग गर्दै राजधानीमा विद्यार्थीहरुद्धारा प्रदर्शन

अदालतको आदेशले संसदको विशेषाधिकार गुमेको दावी

काठमाडौं । जननिर्वाचित संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै आज राजधानीमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन्।

‘संसदको विशेषाधिकारको सम्मान गर, सर्वोच्चको असंवैधानिक आदेश खारेज गर’ भन्ने नारा लेखिएको ब्यानर सहित आज विद्यार्थीहरुले राजधानीमा प्रर्दशन गरेका हुन ।

शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजालसवाट जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै विद्यार्थीहरुले त्यसको खारेजीको माग गरेका छन्।

प्रदर्शनीमार्गको भृकुटीमण्डपबाट शुरु भएको विरोध जुलुस पुतलीसडक चोक पुगेर विरोध सभामा परिणत भएको थियोे।विरोध सभामा नेविसंघ अध्यक्ष नैनसिंह महरले असंविधानिक आदेश तत्काल खारेज गर्न माग गरे।

महरले भने–‘तासलाई जुवा हैन बुद्धि लगाएर खेलिने राम्रो खेल हो भनेर फैसला दिने चोलेन्द्र शमशेर नै हुन् । साहित्यिक निबन्धको शैलीमा आएको असंवैधानिक आदेशमा पुनर्विचार गर्नै पर्छ ।’

विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने–‘संविधान भन्दा माथि कोही पनि छैन।यो आदेशले संसदको विशेषाधिकार र संविधानको हुर्मत लिएको छ। हामी सर्वोच्चको हिजोको उक्त आदेशलाई अविलम्ब सच्याउन माग गर्दछौ।’

उक्त विरोध कार्यक्रममा नेविसंघ उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङ लगायतका विद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको अखिल क्रान्तिकारीका नेता डिबि साउदले बताएका छन ।