भरतपुरको मेयरमा प्रचण्ड पुत्री दाहालको जित सुनिश्चित बन्दैः काँग्रेस, माओवादीले गरे संयुक्त प्रतिवद्धता

एमाले हराउन दुई पार्टी मिलेको नेताहरुले गरे खुलासा

चितवन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले आज माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कि पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउनका लागि संयुक्त प्रतिबद्धता जनाएका छन ।

सत्ता साझेदार दुई पार्टीबीच केन्द्रिय तहमा भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्दै आज भरतपुरमा संयुक्तरुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दहाललाई जिताउने प्रतिबद्धता जनाइएको हो ।

संयुक्त पत्रकार संम्मेलन मार्फत उनीहरुले भरतपुरको मेयरका माओवादीकी दाहाल र उपमेयरमा कांग्रेसकी शाहलाई इमान्दारीताका साथ जिताउन सहयोग गर्ने प्रतिवद्धता जारी गरे ।

पत्रकार सम्मेलनमा सहभागि माओवादी केन्द्र र कांग्रेसका नेताहरुले एमाललेको गठबन्धनलाई हराउनकै लागि भरतपुरमा दुई प्रमुख पार्टीहरुबीच त्यस्तो सहमति गरिएको खुलासा गरेका छन । उनीहरुले आफ्नो प्यानलका उम्मेदवारको जित निश्चित रहेको दाबी समेत गरे ।

महानगरमा सत्तारुढ दुई दलबीच उम्मेदवारीको बाडफाँडमा सहमति भएको भएता पनि वडा निर्वाचनको विषयमा भने अझै टुङ्गो लागि सकेको छैन । माओवादी र कांग्रेसबीच पोखरा र भरतपुरमा मेयर र उपमेयरको साझा उम्मेदवार उठाउने विषयमा पहिले नै सहमति भएको थियो ।

भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रबाट रेणु दाहाललाई र उपमेयरमा नेपाली काँग्रेसबाट पार्वती शाहको उम्मेदवारी रहेको छ । उनीहरुले साझा उम्मेदवारलाई जिताउन दुबैपक्षले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।