उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार स्थानीय तहका उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरेको छ । संसद्मा रहेका २७ वटा राजनीतिक दललाई आयोगले पार्टीकै निर्वाचन चिह्न दिएको छ भने स्वतन्त्र उम्मेदवारलाई अन्य विभिन्न चिह्न प्रदान गरेको छ ।

पहिलो चरणमा हुने २८३ वटा स्थानीय तहका लागि ४९ हजार ७५४ जनाले उम्मेदवारी दिएका छन् । तर, २८३ स्थानीय तहमा १३ हजार ५५६ निर्वाचित हुनेछन् ।

आयोगका अनुसार अध्यक्ष तथा प्रमुखमा एक हजार ९४३, उपप्रमुख तथा उपाध्यक्ष एक हजार ४४५, वडाध्यक्ष १० हजार ९६०, दुई पद वडा सदस्यमा १८ हजार ६८४, वडा सदस्य महिला नौ हजार १३९, दलित वडा सदस्य महिला सात हजार ५८३ गरी जम्मा ४९ हजार ७५४ जना उम्मेदवारले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिकाका ८८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी परेको थियो । यस्तै, पोखरा–लेखनाथ महानगरपालिकामा ८६५, भरतपुर महानगरपालिकामा सात सय र ललितपुर महानगरपालिकामा ६३८ जनाको उम्मेदवारी परेको थियो । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।