प्रमुख दल चुनावी प्रचारप्रसारमा व्यस्तः जित निश्चित भएको सबैको दावी

काठमाडौं । प्रमुख दल कांग्रेस, एमाले, माओवादी, राप्रपासमेत चुनावी तालमेल गर्न कस्सिइरहँदा वैकल्पिक शक्ति मानिएका नयाँ दल भने एक्लाएक्लै लड्न अग्रसर छन् ।

नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न उनीहरु उदासीन देखिए । नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसँग चुनावी सहकार्यको प्रस्ताव लगे पनि उनीहरुले एक्लाएक्लै अघि जान रुचि देखाए । साझा पार्टीले विवेकशीलसग छुट्टै तालमेल प्रयास गर्‍यो, तर उम्मेदवारी संरचनामा कुरो नमिलेपछि त्यो प्रसंग त्यत्तिकै हरायो ।

वैकल्पिक भनिएका अरु दुई दलसग कुरो नमिलेपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसग चुनावी तालमेल गरेको छ । उनीहरु एउटै चुनाव चिह्न ‘मशाल’ अन्तर्गत लड्ने सहमतिमा पुगेका छन् । स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न अनुमति दिए पनि चुनाव चिह्न भने संसदभित्र भएका दललाई मात्रै दियो । नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखा पाउनुपर्ने भन्दै धर्नालगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर आयोगले मतपत्र छापिसकेको भन्दै कुनै वैकल्पिक चिह्नसहित चुनाव लड्न आग्रह गर्‍यो । त्यसपछि नयाँ शक्तिले चुनावमा भाग लिन हाल एकता चर्चामा रहेको फोरमकै चिह्न मशाल लिने निर्णय गर्‍यो । विवेकशील र साझाले पनि चिह्न पाउनुपर्ने माग गरे पनि सफल भएनन् । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।