बर्दियाबाट नेकपाका इन्चार्ज सहित १३ जना गिरफ्तार

कार्यकर्ता रिहा नगरे प्रशासनले ठूलो मुल्य चुकाउनु पर्ने नेकपाको चेतावनी

बर्दिया । स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन बहिष्कारको पक्षमा उभिएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता,कार्यकर्तामाथि प्रहरीले व्यापक निगरानी गर्दै आएको छ ।

निर्वाचनको बिरुद्धमा देश ब्यापी जनप्रतिरोध अभियान चलाएको नेकपाले कुनै पनि हालतमा निर्वाचन गर्न नदिने बताउदै आएको छ भने प्रहरीले उसका नेता,कार्यकर्ताहरु पक्राउ गर्ने क्रमलाई पनि रोकेको छैन ।

आज नेकपाको बर्दिया इन्चार्ज सहित १३ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाका एसपि भरत बहादुर बोहराले हरपल नेपाल डटकमसँग कुराकानी गर्दै उनीहरुले निर्वाचन विरोधी गतिबिधि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको बताएका छन ।

एसपि बोहराले विप्लवका नेताहरुले निर्वाचनमा अशान्ति मच्चाउन सक्ने र जनतालाई त्रसित बनाउदै आएकाले आवश्यक अनुसन्धान गरी सरकारी वकिल समक्ष उपस्थित गराएर थप कार्वाही गर्ने बताएका छन ।

एसपि बोहराले भने–‘सरकारले निर्वाचनको वातावरण बनाउदै गएको बेला स्वतन्त्र र शान्तिपूर्वक निर्वाचनमा भागलिन पाउने जनताको अधिकारलाई हनन गर्दै विप्लव माओवादीले जनतामा फैलाएको डर,त्रासका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हामीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरेर प्राप्त प्रमाण सहित कार्वाही प्रकृया अघि बढाउने तयारी गरेका छौ ।’

प्रहरीले पक्राउ गरेका नेकपाका बर्दिया इन्चार्ज मुक्ती सहित १३ जना नेताहरु अहिले जिल्ला प्रहरी कार्यालय बर्दियामा राखेको बताएको छ । त्यस्तै आफ्ना पार्टीका नेताहरुको गिरफ्तारी लगत्तै नेकपाको भेरी ब्युरो इन्चार्ज विश्वले चेतावनीपूर्ण विज्ञप्ती जारी गर्दै कार्यकर्ता रिहाको माग गरेका छन ।

भेरी ब्युरो विश्वले विज्ञप्तीमा भनेका छन–‘बर्दियाको गुलरीयास्थित उद्योग वाणिज्य संघको भवनमा सामान्य छलफल गरिरहेको बेला जिल्ला पार्टी इन्चार्ज मुक्ति सहित १३ जना जिल्ला समिति सदस्यहरूलाई प्रहरी प्रशासनले विना कारण स्वच्छाचारी ढंगले गिरफ्तार गरेको प्रति नेपाल कम्युनिस्ट पार्टी भेरी व्युरोको गम्भिर ध्यानाकर्षण भएको छ । देशभर र बर्दियामा भएको उक्त कार्यरतापूर्ण हर्कतको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ । साथै गिरफ्तार जिल्ला इन्चार्ज सहित निर्दोष कार्यकर्तालाई बिना शर्त तुरुन्त रिहा गर्न पनि प्रशासनसँग जोडदार माग गर्दछ ।’

उनले कार्यकर्ता रिहा नगरे भयाबह अवस्था निम्त्याउने चेतावनी दिदै त्यसको जिम्मा प्रशासनले लिनुपर्ने बताएका छन । उनले विज्ञप्ती मार्फत भनेका छन–‘यदि हाम्रो आग्रहलाई कमजोरी ठानी बेवास्ता गरेमा यसबाट उत्पन्न हुने भयाबह अवस्था र गम्भिर परिणामको जवाफदेही स्वयम प्रशासन हुने र ठूलो मुल्य चुकाउनु पर्ने यसै विज्ञप्ति मार्फत हाम्रो पार्टी चेतावनी दिन्छ ।’

विभिन्न स्थानबाट नेता,कार्यकर्ताहरु पक्राउ परेको भएपनि नेकपाले भने निर्वाचनबाट जनताका समस्या र मुलुकको हित नहुने भन्दै निर्वाचनको बहिष्कारमा होमिने बताउदै आएको छ ।