नगरको समग्र समृद्धिमा अग्रसर हुने प्रतिबद्धता

देशकै नमूना नगर बनाउने दावी

भक्तपुर । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल बढेको छ । भक्तपुरमा रहेको चारवटै नगरपालिकामा सबै दलहरुले राजनीतिक चहलपहल बढाएका छन् ।

नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरुले यहाँका नगरहरुको समग्र विकासका साथै देशकै नमूना नगरका रुपमा भक्तपुरका नगरलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुरका विभिन्न नगरपालिकाका नगर प्रमुख उम्मेदवारहरुले यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, पर्यटन लगायतका क्षेत्रको समग्र विकासका लागि लागि पर्ने मा जोड दिएका छन ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार अष्ट कबेले मध्यपुरको समग्र विकासका साथै मनोहरा र हनुमन्ते खोलाको फोहोर व्यवस्थापन गरी यस नगरलाई स्वच्छ, सफा र हरियाली बनाउँने बताए ।

यस्तै चाँगुनारायण नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार सोम मिश्रले नगरको धार्मिक, साँस्कृतिक पर्यटन विकासका साथै यहाँको समग्र विकासमा लागि पर्ने बताए ।

उनले वीर अस्पतालको चाँगुमा स्थापना गरी यस क्षत्रेका मात्रै नभई भक्तपुर जिल्लाकै नागरिकको स्वास्थ्यमा पहुँचबृद्धि गराउने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिलकृष्ण तजले सूर्यविनायकलाई पर्यटकिय सूचना केन्द्रका रुपमा विकास गर्ने बताए ।

चाँगु नारायण नगरपालिकामा राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहले हिन्दु राष्ट्र कायम गर्नुको साथै भष्टाचार मुक्त नगर स्थापना र यहाँको समग्र विकासका लागि आफु लागीपर्ने बताए ।