आज संसद्मा महाभियोग प्रस्ताव पेस हुने

छलफलको मिति आजै सभामुखले तोक्ने

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्ताव आज व्यवस्थापिका संसद् सचिवालयमा दर्ता हुने भएको छ । संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसद्मा पेस भएको प्रस्तावमा छलफलको मिति आज नै तोकिने भएको छ ।

आज पेस हुने प्रस्तावको छलफलको मिति भने आजको बैठकबाट सभामुख ओनसरी घर्ती मगरले तोक्ने छन ।

सभामुख घर्तीले तोकेको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ । छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइने प्रवक्ता गौतमले जानकारी गराएका हुन ।

सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसद्मा नै पेस हुने र उक्त महाभियोग सिफारिस समितिलाई बढीमा एक महिनाको समय दिइने त्यसपछि समितिले पेस गरेको प्रतिवेदनमा संसद्मा मत विभाजन गरिने प्रवक्ता गौतमले बताए ।

वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश तथा कुनै पनि न्यायाधीशमाथि महाभियोग दर्ता भएको पहिलोपटक हो ।