म महाअभियोग प्रस्तावको पक्षमा छैनः कांग्रेस नेता पौडेल

महाअभियोग प्रस्ताव फिर्ता लिन देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

त्यस्तो बाटो महाअभियोग प्रस्ताव फिर्ता या अरू केही विकल्प हुन सक्ने भन्दै पौडेलले तत्काल निर्णय लिन सभापति देउवालाई ध्यानाकर्षण गराएको स्रोतले बतायो ।

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पार्टी एकढिक्का रहेको सन्देश सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी दिन खोजिएको थियो ।

पत्रकार सम्मेलनमा पौडेललाई समेत बोलाइएको भए पनि उनी गएनन् । उनको साटो महामन्त्री शशांक कोइरालालाई पत्रकार सम्मेलनमा राखिएको थियो ।

महाअभियोग प्रस्ताव दर्ताको अघिल्लो दिन आफूसंँग सामन्य परामर्श भए पनि दर्ता गर्ने बेलामा झुक्काइएको पौडेलले आफूनिकट नेतालाई बताउने गरेका छन् ।

पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो–‘शनिबार प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गर्नुपर्ने परिस्थिति आयो भनेर पार्टी सभापतिले मसँग सामान्य कुरा गर्नुभएको हो, मैले लोकले के भन्छ ? पार्टीलाई कति नोक्सानी पुग्छ ? त्यसलाई समेत ख्याल गरेर निर्णय लिनु होला भनेको हुँ, यसो भन्नुको अर्थ मैले समर्थन गरेको कदापि होइन । चुनावका बेला परेर मात्रै चुप बसेको हुँ ।’

महाअभियोग प्रस्तावमा पौडेलको समेत हस्ताक्षर छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयोग गरिएको हस्ताक्षरलाई नै महाअभियोग प्रस्तावमा पनि प्रयोग गरिएको थियो ।

त्यतिबेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुई कपी हस्ताक्षर संकलन गरेका थिए । एउटा तत्काल ओलीविरुद्ध अविश्वासको प्रस्तावमा प्रयोग भएको थियो भने अर्को हस्ताक्षर प्रमुख सचेतकलाई जिम्मा दिइएको थियो ।