काठमाडौंको धुलोले आकाशमा हवाइजहाजको जाम

काठमाडौं । काठमाडौंको सडक विस्तार तथा मेलम्ची खानेपानी आयोजनाका लागि खनिएको सडकबाट निस्किएको धुलो वेलैमा व्यवस्थापन गर्न नसक्दा त्यसले काठमाडौंको वातावरण प्रदूषित बनाएको छ ।

विमानस्थलबाट जहाज उडान हुने र अवतरण गर्ने स्थाननजिकै बौद्ध–जोरपाटी सडक तथा कोटेश्वर क्षेत्र आसपास चक्रपथ विस्तारका क्रममा उड्ने धुलोले बढी असर गरेको प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिएका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नयाँ घटना होइन ।

तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आकाशमा ट्राफिक जाम बढ्नुमा धेरै कारणले भूमिका खेलेको हुन्छ । त्यसमध्ये पछिल्ला दिनमा काठमाडौंका सडकबाट निस्किएको धुलो एक कारण बनेको छ ।

के हो भिएफआर र आइएफआर रुल:   प्राधिकरणका अनुसार विमानस्थलहरूमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर)र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ ।

यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।

काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

स्लट म्यानेजमेन्टमा चुक्यो विमानस्थल व्यवस्थापन:  काठमाडौंको आकाशमा हुने उडान–अवतरणमा देखिएको भद्रगोल अवस्था सिर्जना हुनुमा धुलो या मौसम अल्पकालीन समस्या हुन् ।

तर, यसको दीर्घकालीन समस्या भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले गर्ने अव्यवस्थित स्लट म्यानेजमेन्ट (जहाजहरूलाई दिइने उडान र अवतरण अनुमतिको समय) हो ।

खासगरी वाइडबडी जहाजमा २ सय ५० देखि ३ सयजनासम्म यात्रु बोकेर आउने जहाजहरूलाई विमानस्थल कार्यालयले दिउँसोको पिक आवरमा उडान अनुमति दिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयले अन्तर्राष्ट्रियतर्फ दिउँसो ११ बजेदेखि ३ बजेसम्म धेरै उडान–अवतरण हुने गरी स्लट उपलब्ध गराएको छ । त्यसपछि ७ बजेसम्म फाट्टफुट्ट मात्र उडान–अवतरण हुन्छन् ।

७ बजेपछि पुनः चाप बढ्छ । नेपाल आउने भए हामीले दिएको समयमा आउ, नत्र उडान अनुमति नै दिँदैनौ भनी अन्तर्राष्ट्रिय कम्पनीसँग अडान लिन नसक्दा स्लट व्यवस्थापनको समस्या उत्पन्न भएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता श्रेष्ठ बताउँछन् ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा बाह्य गरी दैनिक साढे ४ सय उडान–अवतरण हुने गरेको छ । त्यसमध्ये ७० हाराहारी अन्तर्राष्ट्रिय उडान–अवतरण हुन्छन् ।

कारण के हो:  प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता श्रेष्ठका अनुसार अघिल्ला वर्षहरूमा भिजिबिलिटी कम भएकै कारण चैत–वैशाख महिनामा उडान रद्द, डिले या होल्ड हुने समस्या कम थियो । तर, यस वर्ष चैत–वैशाखमै भिजिबिलिटी कम भएकै कारण जहाजहरू उडान अवतरणमा समस्या भोग्नुपरेको छ ।

प्रतिकूल मौसम र त्यसमा पनि हुस्सु लागेका वेला हुने अवस्थाकै अवरोध काठमाडौंको धुलोका कारण हुने गरेको प्राधिकरणको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।