चितवनमा एकसय २६ किलो चरेस बरामद

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आज १२६ किलो लागु पदार्थ चरेस बरामद गरेको छ ।

बिहान १० बजे नारायणगढको लायन्सचोकबाट ना ४ ख ७६३० नम्बरको ट्रकबाट सो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडौँ पुगेर पुनः फर्किएर चितवन आउने क्रममा नारायणगढमा ट्रक नियन्त्रणमा लिइएको थापाले बताए ।

ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ट्रक चालकले रु ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको बताएको उपरीक्षक थापाले बताउनुभयो । पाँच सय ग्रामका २५३ वटा प्याकेट रहेको उहाँले जानकारी दिए ।

यसअघि चितवन प्रहरीले एक सय किलो चरेस नियन्त्रणमा लिएको थियो । सो चरेससमेत धादिङबाटै ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको थियो । रासस