संसद खरिद बिक्री गरेर बस्ने बेला होईनः सचिव भट्टराई

स्थानीय तहको चुनावमा एमाले एक नम्बरमा हुने दावी

काठमाडौं । सत्तारुढ दलले संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव फिर्ता नलिए नेकपा एमालेले कडा आन्दोलन गर्ने सचिव योगेश भट्टराईले बताएका छन ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकार कार्यक्रममा भट्टराईले त्यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा उनले भने–‘प्रचण्ड सरकारले बुद्धि पुर्याउँछ भने यो संशोधन विद्येयक फिर्ता लिनुपर्छ, अब संशोधन प्रस्तावको औचित्य छैन, किनकी देश निर्वाचनमा होमिसकेको छ, अब पनि संसद खरिद बिक्री गरेर बस्ने बेला होईन ।’

सोही कार्यक्रममा बोल्दै उनले भने–‘काँग्रेस फेरि पनि तीनैको हातमा गयो, जसले ०५१ सालमा संसद किनबेच गर्ने काम गर्यो, हाम्रो देश पछि पर्नुको प्रमुख कारण नै काँग्रेसले लिएको अस्थिर नीति हो, र कमजोर नेतृत्व हो ।’

करिब बिस बर्षको अन्तराल पछि मुलकमा स्थानीय तहको निर्वाचन हुने भएकाले जनताहरुमा खुसियाली छायको र सक्षम प्रतिनिधिको छनोट गर्न आतुर भएको उनले बताए । देश भरका मतदान केन्द्रबाट नेकपा एमालेले ६० प्रतिशत सिट जित्ने उनले दावी गरेका छन ।