महेन्द्रनगरमा आयुर्वेद कलेजको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कलेजको स्थापना गर्न आफुले पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापना गर्न प्रधानमन्त्रीको ज्ञापनपत्र बुझाएका छन ।

आज बिहान यातायात तथा भूमिसुधार मन्त्री रमेश लेखकसहित प्रधानमन्त्री भेट्न आएको सर्वदलीय टोलीले महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा ८.५ बिघा जमिन रहेको छ ।

उक्त ८.५ बिघा जमिनमा आयुर्वेद कलेज स्थापना गर्न जिल्लाका सबै दल, सामाजिक संघसंस्था सहमत भएको र संस्कृत विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएका हुन ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भन–‘प्राविधिक शिक्षा हाम्रो विकासको महत्वपूर्ण आधार हो । हाम्रा बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका छन्, तिनीहरुको नेपालमै प्रशोधन र औषधि उत्पादन गर्नैपर्छ । त्यसका लागि पनि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आयुर्वेद कलेजको स्थापना गर्न मेरो तर्फबाट पहल हुन्छ ।’