वैशाख ३१ को चुनावमा ८० हजार सुरक्षाकर्मी परिचालन

सुरक्षाकर्मीहरु कार्यक्षेत्रमा गइसकेको गृहको भनाइ

काठमाडौं । करिव २० बर्ष पछि हुन लागेको स्थानीय निकायको पहिलो चरणको निर्वाचन वैशाख ३१लाई लक्षित गर्दै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गृह मन्त्रालयका अनुसार पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । पन्थीले भने–‘सबै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको सकिएको छ ।’

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए ।

सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार २५ हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन् । यस्तै, नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ ।