अझै बुझाएनन् ३३ हजारले अनुमतिका हतियार

लाइसेन्स प्राप्त हतियार नै सुरक्षा चुनौती

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सरकारले चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गरे पनि हजारौैँले अटेर गरेका छन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार करिब ३४ हजारले हतियार राख्न लाइसेन्स लिएका छन् ती मध्ये ९ सय ३६ ले मात्र प्रशासनमा हतियार बुझाएका छन् ।

गृह मन्त्रालयले १५ वैशाखभित्र लाइसेन्सप्राप्त बन्दुकलगायतका हतियार बुझाउन सूचना जारी गरेको थियो । तर, करिब ३३ हजार हतियार विभिन्न व्यक्तिले बुझाएका छैनन् ।

यसले निर्वाचनमा सुरक्षा चुनौती थपिएको प्रहरी अधिकारीहरू बताउँछन् । लाइसेन्स लिएकामध्ये थोरैले मात्र हतियार बुझाएको गृह मन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए ।

चुनाव सुरु हुन केही दिन बाँकी रहेकाले अझै पनि हतियार बुझाए प्रशासनले बुझ्ने गृहका सहायक प्रवक्ता जनार्दन गौतमले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मात्र १३ हजार तीन सय २२ जनाले लाइसेन्स लिएर हतियार राखेका छन्, जसमध्ये ३९ जनाले मात्र हतियार बुझाएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहका अनुसार थोरैले मात्र हतियार बुझाएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी चुनावको अवधिमा कसैले लाइसेन्सप्राप्त हतियारको दुरुपयोग गरे कारबाही हुने बताए ।