काठमाडौँ जिल्लामा दलहरुले उत्साहपूर्वक उम्मेदवारी दर्ता

काठमाडौं । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकको राजधानी काठमाडौँ जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

क्षेत्रीय निर्वाचन अधिकारी चन्द्र गौतमका अनुसार काठमाडौँका एक महानगर र १० नगरपालिकामा एक प्रमुख तथा एक उपप्रमुख गरी २२ पदमा निर्वाचन हुँदैछ । त्यस्तै सबै नगरपालिकाका जम्मा १३८ वडामा एक अध्यक्ष तथा चार सदस्य गरी ६९० पदमा निर्वाचन हुन लागेको हो ।

काठमाडौँ महानगरमा प्रमुख दलका उम्मेदवार को

नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले काठमाडौँ महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । प्रमुखमा एमालेले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ भने र उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ ।

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको छ ।

काठमाडौँमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा ७१२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी धेरैको उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि आज मनोनयन दर्ता भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।