को बन्छ गृहमन्त्री लेखक कि श्रेष्ठ

काठमाडौं । प्रहरी प्रमुख नियुक्तिमा वरीयताबाट सुरु खटपट प्रधानन्यायाधीश प्रकरणसम्म पुगेपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएयता गृह मन्त्रालय नेतृत्वविहीन छ ।

देशको शान्ति सुरक्षाको जिम्मा लिएको यो मन्त्रालय भागबन्डाको पूर्वसहमतिअनुरूप कांग्रेसको भागमा परेको उल्लेख गर्दै सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र उसैको निर्णय पर्खेर बसेको छ ।

स्थानीय चुनाव र पछिल्लो राजनीतिक उताचढावबीच गृह अहिलेलाई खाली रहने हो कि भन्ने आशंका सरकारी अधिकारी नै गर्छन् । आइतबार राजीनामा दिएका निधि बुधबार सरकारी क्वार्टर छाडेर नयाँबानेश्वरस्थित निवास सर्दै छन् ।

स्रोतका अनुसार भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक र कांग्रेस सांसद गोपालमान श्रेष्ठ गृहमन्त्रीको चर्चामा छन् । आलोपालो सहमतिअनुरूप पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु सकिनै लाग्दा छोटो अवधिका लागि भए पनि लेखक गृह मन्त्रालयको ‘पोर्टफोलियो’ सित जोडिन चाहन्छन् ।

लेखक र श्रेष्ठ दुवै कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिँदै आए पनि लेखकको राजनीतिक सक्रियता, निर्णय क्षमता र क्षेत्रीय निकटताका कारण उनी प्राथमिकतामा पर्न सक्छन् । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।