विप्लवका रुकुम जिल्ला सेक्रेटरीसहित २५ जना गिरफ्तारः चुनाब अवधिसम्म थुनामा राख्ने प्रहरीको तयारी

केहीबेरमा सुरक्षा समितिको बैठक बस्दै

रुकुम । सरकारले निर्वाचनको तयारी गरिरहेकाबेला नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार अभियान सञ्चालनको भन्दै आज जिल्ला प्रहरी कार्यालय रुकुमले जिल्ला सेक्रेटरी सहित २५ जनालाई गिरफ्तार गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेकपा रुकुमका सेक्रेटरी चन्द्र बहादुर बुढा , सह सेक्रेटरी गम्भीर, नेताहरु हिरामणि रावल , अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दिपक विष्ट ,मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीसहित २५ नेता नेता, कार्यकर्ताहरुलाई आज दिउँसो आठविसकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

सुरक्षा ब्यवस्थाको कारण देखाउँदै पक्राउ परेका विप्लव कार्यकर्ताहरुलाई स्थानीय निकायको निर्वाचन अवधिसम्म नियन्त्रणमा राख्ने तयारी प्रहरीले गरेको छ । प्रहरीले गिरफ्तार परेका विप्लवका कार्यकर्ताहरुले निर्वाचन बिरोधी गतिबिधि सञ्चालन गरेको, स्थानीय जनतालाई निर्वाचनमा भाग लिएमा कार्वाही गर्नेसम्मको धम्की दिएको भन्दै निर्वाचन अवधिसम्म नियन्त्रणमा राख्नका लागि आवश्यक तयारी गरिरहेको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार गिरफ्तार नेताहरुको विषयमा अहिले केहीबेरमा जिल्ला स्थित सुरक्षा समितिको बैठक बस्दैछ । प्रहरीले उनीहरुमाथि निर्वाचन बिथोल्ने, धम्क्याउने र स्थानीय शान्ति खलबल्याउने काममा सक्रीय भएको भन्दै आवश्यक प्रमाणहरु सहित केहीबेरमा सरकारी वकिल समक्ष उपस्थित गराउने तयारी गरेको छ ।

हरपल नेपाल डटकमसँग कुराकानी गर्दै रुकुम प्रहरीका डिएसपि अंङ्गुर बिसीले गिरफ्तार परेकाहरुलाई निर्वाचनको अवधिसम्म नियन्त्रणमा राख्नको लागि आवश्यक कानुनी प्रकृया सुरु गरिएको जनाएका छन । उनले महान्यायाधिवक्ता, सरकारी वकिलसँग समेत आवश्यक कानुनी सल्लाह लिने काम गरेको बताएका छन ।

डिएसपि बिसीले भने–‘उहाँहरुले निर्वाचन बिरोधि कार्य गर्नुभएको छ । निर्वाचनको मुखमा स्थानीय शान्ति खल्बल्याउने प्रकारले सक्रीय भएको पाइन्छ । जनतामा उहाँहरुले डर,त्रास देखाउनु भएको छ । तसर्थ हामीले आवश्यक प्रमाणसहित सरकारी वकिल समक्ष प्रस्तुत गर्ने तयारी गरेका छौ ।’

डिएसपि बिसीले स्थानीय निकायको निर्वाचन रुकुममा शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास ब्यक्त गरे । उनले शान्ति सुरक्षाको लागि रुकुममा प्रहरीको ब्यपक परिचालन गरिएको र निर्वाचनमूखि सुरक्षा योजना लागु गरिसकीएको बताए ।

डिएसपि बिसीले भने–‘हामीलाई निर्वाचनको लागि चार सय ५८ जना म्यादी प्रहरी चाहिएको थियो, तर अहिले चार सय ८५ जना म्यादी रुकुममा रहेका छन । त्यसैगरी जिल्लामा आठ सय भन्दा बढी प्रहरीहरु खटिएका छन । हामीलाई चाहीने भन्दा करिब दुई सय जना जति प्रहरी बढि रहेको अवस्थामा यहाँ जस्तो सुकै परिस्थिती आएपनि शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सकिन्छ ।’

नेकपाका महासचिब नेत्रबिक्रम चन्द बिप्लवले स्थानीय चुनावबाट जनताको अधिकार प्राप्त नहुने बताएका छन । उनले हिजो फेसबुक स्ट्याटस मार्फत नेपाली जनताका कुनैपनि समस्याहरु संसदीय व्यवस्थाबाट समाधान हुन नसक्ने र संसदीय व्यवस्थाले दलाल पुँजीपति वर्गको संरक्षरण गर्ने भएकाले त्यसबाट श्रमजिवि जनतामाथि जतिखेर पनि दमन हुन सक्ने कुरा कुरा तर्फ नेपाली जनतालाई सचेत रहन समेत आग्रह गरेका थिए।

उता आफ्ना नेता कार्यकर्ताहरु पक्राउ परेपछि नेकपाले भने झनै संक्रिय रुपमा निर्वाचनको बहिष्कार अभियान चलाउने बताएको छ । नेकपाले देश ब्यापि रुपमा निर्वाचन बहिष्कार तथा जन प्रतिरोध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले संसदीय व्यवस्थाबकाट जनताको अधिकार सुरक्षीत गर्न नसकिने भएकाले स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टीले देश ब्यापि बहिष्कारको योजना बनाएको बताएका छन ।

प्रवक्ता प्रकाण्डले स्थानीय चुनाबका उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता गरेर, तथा जनतालाई मतदानमा सहभागि नभएर सहयोग गर्न आग्रह समेत गरेका छन ।

नेकपाले हिजो म्याग्दीबाट कांग्रेसबाट स्थानीय निकाय चुनाबका उम्मेदवार जस बहादुर पुनलाई अपहरण समेत गरेको छ । नेकपाले देश ब्यापि रुपमा निर्वाचन बहिष्कार तथा उम्मेदवारी फिर्ता गराउने कार्यक्रम तिब्र पारेको छ ।