राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सुरक्षा चुनौती प्रति सेनाद्धारा सतर्कता

महाभियोगको विषयले सत्तारूढ दलहरूबीच ध्रुवीकरण

काठमाडौं । नेपाली सेनाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावपछि उत्पन्न भएको राजनीतिक परिस्थितिले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौती प्रति उच्च सतर्कता अपनाएको छ ।

आइतबार साँझ जंगी अड्डामा बसेको आकस्मिक पीएसओज बैठकले पछिल्ला राजनीतिक घटनाक्रमले उत्पन्न गर्नसक्ने सुरक्षा चुनौतीलाई लिएर सक्रियता बढाउने निर्णय गरेको हो ।

बैठकले राजनीतिक अस्थिरताले उब्जाउने सुरक्षा चुनौतीबारे विश्लेषण गरेको थियो । राजनीतिक संक्रमण बढिरहेका बेला नेपाली सेनाको भूमिका के हुन सक्छ भन्ने विषयमा पीएसओज बैठकमा छलफल भएको थियो ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाभियोगको विषयले सत्तारूढ दलबीच नै मनमुटाव बढ्नसक्ने र त्यसले सत्ता समीकरणमा समेत फेरबदल आउनसक्ने विषयमा समेत पीएसओज बैठकमा छलफल भएको स्रोतले बताएको छ ।

बैठकले संविधान संशोधन, प्रधानन्यायाधीशविरुद्धको महाभियोग र स्थानीय निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै ध्रुवीकरण बढेको र त्यसले राजनीतिक गतिरोधलाई थप लम्ब्याएको विषयमा छलफल भएको थियो ।

पीएसओज बैठकले अर्थपूर्ण केही निर्णय नगरेपछि पछिल्लो राजनीतिक गतिरोधले निम्त्याउनसक्ने सुरक्षा चुनौतीप्रति सजग रहने र त्यस्ता चुनौतीको डटेर सामना गर्ने निष्कर्षमा नेपाली सेना पुगेको छ ।

सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीप्रति नेपाली सेना सजग रहेको बताएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समेत गत साता निर्वाचन आयोगमा भएको एक कार्यक्रममा राजनीतिक दलको असहमतिका कारण निर्वाचनको वातावरण बन्न कठिन भएको बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १४ गते स्थानीय निर्वाचन सफल बनाउन सेना परिचालन गर्न स्वीकृति दिएकि थिइन।

राष्ट्रिय सुरक्षा परिषद्ले चैत ९ गते स्थानीय निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । परिचालनको निर्णयसँगै निर्वाचनकेन्द्रित सुरक्षामा सेना सक्रिय भएको छ ।