पहिलो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । पहिलो चरणअन्तर्गत ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज (मंगलबार) तीन प्रदेशका ३४ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।

१९ वर्षपछि स्थानीय तहको जनप्रतिनिधि चयनका लागि हुन लागेको ३१ वैशाखको पहिलो चरणअन्तर्गत ३, ४ र ६ गरी तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका आकांक्षीले उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र मतदातालाई उम्मेदवारी दिने कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्वाचनलाई उल्लासका रूपमा अघि बढाउन उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म स्थानीय तहमा नेतृत्वका लागि उम्मेदवारी दिन चाहनेहरूले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सक्नेछन् ।

यसरी उम्मेदवारी दर्ता गर्न आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका र नगरपालिकाका केन्द्रमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने बताएको छ ।

पहिलो चरणअन्तर्गत ७ सय ४४ स्थानीय तह तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये २ सय ८३ तहका ४ हजार ६० केन्द्र र ७ हजार ३ सय ११ स्थलमा निर्वाचन हुने बताएकोमा रुकुम र नवलपरासीका केही गाउँपालिकामा सरकारले पछिल्लोपटक हेरफेर गरेर प्रदेश ५ मा राख्ने निर्णय गरेपछि केही मतदानस्थल र केन्द्र घट्न सक्ने आयोगले बताएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।