एमालेले दुई महानगरपालिका बाहेकका सबै ठाउँमा उम्मेदवार टुंग्यायो

काठमाडौं । एमालेले स्थानीय तहको निर्वाचनका लागि काठमाडौं र ललितपुर महानगरबाहेकका अन्य सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

दुई महानगरमा उम्मेदवारको विषयमा नेताहरुबीच एकमत नभएपछि नाम छनोट गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई जिम्मा दिएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

काठमाडौंमा विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भूसालको नाम सिफारिस भए पनि पूर्वमेयर केशव स्थापितको नाममा केही नेताहरुले लबिङ गरेको स्रोतले जनाएको छ ।

ललितपुर महानगरमा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारको नाम सिफारिस गरेर पठाए पनि अर्का नेता ज्ञानेन्द्र शाक्यको बारेमा पनि छलफल भएको बताइएको छ ।

बैठकले पोखरा लेखनाथ महानगरपालिकाका लागि प्रमुखमा मानबहादुर जीसी र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी भरतपुर महानगरपालिकाका लागि प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिब्या आचार्यलाई अघि सार्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिकको प्रमुखमा हरिबहादुर महतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

काठमाडौँ र ललितपुर महानगरपालिका प्रमुख/उपप्रमुख र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखका विषयमा सम्बन्धित ठाउँका नेताहरुसँग थप छलफल गरी भोलि बिहानसम्ममा टुंगो लगाउने निर्णय भएको सचिव विष्टले जानकारी दिए ।

भोलि नै मनोनयन दाखिल गर्नुपर्ने प्रदेश नम्बर ६ का सबै उम्मेदवारहरु यसअघि नै तय भइसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।