कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा कांग्रेस शीर्ष नेताहरु एकमत

आफुमाथि हस्तेक्षप भएकाले राजीनामा दिएको निधिको दावी

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा एकमत देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूले पनि महाअभियोग प्रस्तावलाई जायज ठहर्‍याएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार निर्वाचन प्रचारप्रसार समितिको पत्रकार सम्मेलन गर्दै महाअभियोग प्रस्तावमा असहमति जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामाले तरंग ल्याएपछि यस मुद्दामा पार्टी एकढिक्का भएको सन्देश दिन पत्रकार सम्मेलनमा पार्टीभित्रका तीनै पक्षका नेताहरुले आफुहरु एकढिक्का भएको जानकारी गराएका हुन ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग न्यायालयलाई स्वच्छ, मर्यादित र स्वतन्त्र राख्नकै लागि ल्याइएको जिकिर गरेका थिए ।

महामन्त्री कोइरालाले भने–‘महाअभियोग प्रस्ताव नेतागणले ल्याउनुभएको हो । कांग्रेस जहिले पनि स्वतन्त्र, निष्पक्ष र मर्यादित न्यायपालिकाको पक्षमा अविचलित छ । अहिलेको महाअभियोग पनि निष्पक्षता कायम गर्नकै लागि ल्याइएको हो ।’

पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य सिटौलाले कार्कीविरुद्धको आरोप पुष्टि गर्ने प्रयासमा प्रहरी नियमावलीको दफा ४१ पढेरै सुनाएका थिए । जसमा सरकारले योग्यता र क्षमताका आधारमा उपयुक्त उम्मेदवारलाई महानिरीक्षक बनाउन सक्ने व्यवस्था छ ।

केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले भने–‘देशको प्रशासन र शान्ति सुरक्षा कायम गर्ने दायित्व गृह प्रशासनको हो । सुरक्षा कायम हुन नसके अदालतले जवाफ दिँदैन, सरकारले दिने हो । त्यसैले कसलाई आईजीपी बनाउने भन्ने गृह मन्त्रालय र सरकारको अधिकारको विषय हो ।’

लेखकले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यकारिणी अधिकारमाथि अदालतले हस्तक्षेप गरेको बारम्बार दोहोर्‍याए पनि विभागीय मन्त्री विमलेन्द्र निधिले भने आफैंमाथि हस्तेक्षप भएको कारण जनाउँदै राजीनामा दिएका छन् ।

गृहमन्त्री निकट स्रोत भन्यो–‘कार्यकारिणी अधिकार गृह मन्त्रालय र त्यसको नेतृत्व लिएको हैसियतले गृहमन्त्रीको हो । तर पार्टी नेतृत्वबाटै कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गर्ने काम भयो, कार्यकारिणी अधिकारको हस्तक्षेप भएको भनेर पार्टी सभापति शेरबहादुर देउवाले बोल्ने कि गृहमन्त्रीले ।’

तर उक्त पत्रकार सम्मेलनमा गृहमन्त्री निधिको राजीनामाबारे कांग्रेसका नेताहरूले केही बताउन चाहेनन् । सिटौलाले सभापति देउवाले प्रधानमन्त्रीसँग परामर्श गरेर गृहमन्त्रीमा नाम पठाउने बताए ।