राजनीतिक ध्रुवीकरण तीव्रः राप्रपा सरकारबाहिर, एमाले प्रतिरोधमा, प्रचण्ड प्रतिरक्षा गर्दै

काठमाडौंसत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।

कार्यसम्पादन समितिको बैठकपछि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले महाभियोगले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप भएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

ुहामी महाभियोग प्रस्तावविरुद्ध संसद्मा भोट दिने र तत्काल सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रस्तावित स्थानीय निर्वाचन र त्यसका लागि संविधान संशोधनका पक्षमा मतदान गर्नेछौं थापाले भने ।

आइतबार नै महाभियोग प्रस्ताव दर्ता भएलगत्तै कांग्रेस नेता विमलेन्द्र निधिले गृहमन्त्रीबाट राजीनामा दिएका छन । एमाले र राप्रपाबाट विरोध आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने यो कदम आवश्यक रहेको, प्रधानन्यायाधीशले कार्यपालिकामा हस्तक्षेप गरेको र केही मामिलामा व्यक्तिगत मोलाहिजामा लागेको आरोप लगाए ।

साउन १९ गते दुईतिहाइ मतले निर्वाचित सरकार महाभियोग प्रस्तावका कारण एकपछि अर्को संकटमा पर्न थालेको छ । सोमबार बिहान र साँझ गरी दुईपटक बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी पार्टी प्रवक्ता एवं समिति सदस्य सुशीलकुमार श्रेष्ठले दिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा आइतबार सत्ताधारी दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रले दर्ता गरेको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गर्दै वर्तमान सरकारबाट सोमबारदेखि नै अलग हुने निर्णय गरेको श्रेष्ठले बताए। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।