ताप्लेजुङमा बारुद पड्किदा बालकको मृत्यु

ताप्लेजुङ । छाताको डाँठमा बारुद भरेर आगो सल्काउँदा पड्किएर घाइते भएका आठराई त्रिबेणी गाउँपालिका– १ निघुरादिनका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकवीर तामाङका छोरा १० वर्षीय मिलन तामाङ रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ साथीसँग बसेर सलाइको बारुद निकालेर डाँठमा भरेको र पछि आगो सल्काउँदा पड्किएर मिलन घाइते भएका थिए ।

सँगै रहेका रुपनारायण नाम गरेका साथी भागेका थिए । घाइते भएका मिलनलाई भने आइतबार बिहान स्कूल जाने साथीले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

गाउँलेले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको मृत्यु भएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिए । रासस