मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
टिपर चालक प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७४ बैशाख १८, सोमबार
प्रकासित समय : १०:३७
चितवन। पूर्वी चितवनको खैरहनीमा रोकि राखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।
आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रासस