कामु प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश पराजुली नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले आइतबारै कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गरेका छन ।

सर्वोच्चमा आयोजित एक कार्यक्रमबीच पराजुलीले पदवहाली गरेका हुन। पदबहालीसँगै उनले सर्वोच्चमा उपस्थित न्यायाधीश र कर्मचारीलाई इमान्दार र कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्बाह गर्न मौखिक निर्देशन दिएका थिए ।

त्यसअघि प्रधानन्यायाधीश कार्की सर्वोच्चको गाडीमा झण्डासहित प्रधानन्यायाधीश निवास बालुटार फर्किएकी थिइन ।

स्रोतका अनुसार महाभियोग दर्ताको जानकारी साढे तीन बजे सर्वोच्च प्रशानले पाएको थियो । तर कार्कीलाई भने आफूमाथि महाअभियोग लागेको जानकारी थिएन ।

कार्कीले प्रधानन्यायाधीशको हैसियतमा आइतबार सुडानको डार्फर भ्रष्टाचार प्रकरणसहित चारवटा मुद्दामा फैसलासमेत गरेकी थिइन ।

पोखराको फेवातालमा भएको अतिक्रमण विवादमा परेको रिटलगायत ६ वटा मुद्दा हेर्दाहेदैको अवस्थामा छन् । ति मुद्दा कार्कीको अनुपस्थितिमा पुनः सुनुवाई गर्नुपर्ने भएको छ ।

आइतबार दिउँसो कार्कीले स्वभाविक रुपले अदालती कामकारवाहीमा बिताउनु भएकी थिइन । सुडानको फैसला सकिएपछि महाभियोगको खबर थाहा पाएर कार्कीले सर्वोच्चका न्यायाधीशसँग बिदावारी लिएकी हुन । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।