अस्तव्यस्त अन्तर्राष्ट्रिय विमानस्थल

भिडभाड बढ्दैः पार्किङको समस्या

काठमाडौं । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ ।

विमानस्थलको क्षमता कम हुँदा भिडभाड बढ्नाका साथै उडान सङ्ख्या पनि बढिरहेको छ । विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने होल्ड हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता छ ।

विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय भौतिक संरचना बढाउन नसक्दा विमानस्थलको सेवा अस्तव्यस्त बन्दै गएको बताए । विमानस्थलको पूर्वाधार संरचना बढाउन सकिएको छैन जसका कारण भिडभाड बढी हुने गरेको छ, यात्रुको चाप भएपछि सरसफाइमा पनि समस्या छ,उनले भने ।

विमानस्थलमा पार्किङको समस्या पुरानै हो । यसले विमानस्थललाई थप अस्तव्यस्त बनाएको छ । पार्किङकै कारण विमानस्थल साँघुरो हुँदा एयर ट्राफिक जाम बढेको महाप्रबन्धक उपाध्यायले बताए।

आन्तरिक उडानतर्फ कतिपय निजी वायु सेवा कम्पनीले उडान स्वीकृति लिँदा बाहिरका गन्तव्यमा पार्किङ गर्ने भनिए पनि उनीहरुले केन्द्रमै राख्ने हुँदा थप चाप बढेको छ ।

विमानस्थलको क्षमता नहेरी एयरलाइन्सलाई उडान सञ्चालन अनुमति दिइँदा पनि समस्या भइरहेको सम्बद्ध अधिकारी बताउँछन् । विमानस्थलको टर्मिनल भवन साँघुरो हुँदा यात्रुलाई सास्ती हुने गरेको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार तत्कालीन समयमा १२ देखि १५ जहाज ‘हेन्डलिङ’का लागि बनेको टर्मिनल भवनमा अहिले करिब सय अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । आधा यात्रु कक्षमा पनि असाध्यै भिड छ । सय जना क्षमताको शौचालय दुई सय ५० जनाले प्रयोग गर्नुपर्ने बाध्यता छ ।

विसं २००६ देखि नियमित उडान सुरु भएको विमानस्थलको विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो भौतिक संरचनाकै भरमा अहिले उड्डयन सेवा दिइएको छ । भौगोलिक कठिनाइ, प्रतिकूल मौसम आदिले पनि विमानस्थलको चाप बढेको छ ।

विमानस्थलको भौगोलिक अवस्थितिका कारण आधुनिक उपकरण जडानमा कठिनाइ छ । विमानस्थलको भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन आदिलाई ध्यान दिइनाको साटो पुरानो संरचनामा उडान थप्दै जाने प्रवृत्तिले विमानस्थलको छवि अन्तर्राष्ट्रिय जगत्मा कमजोर हुने विज्ञहरु बताउँछन् ।

उड्डयन सुरक्षाको चुनौतीलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले लामो समयदेखि त्रिविअलाई कालोसूचीमा राखेको छ, जसलाई हटाउन प्राविधिक तथा भौतिक सुधारका काम गरिनु अनिवार्य छ ।

साँघुरो विमानस्थलमा अहिले वायुसेवा यानको सङ्ख्या र यात्रु आवागमन पनि बढिरहेकाले हालको भौतिक पूर्वाधार अपुग छ । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र नेपालको करिब ९० प्रतिशत यात्रुको आवागमन हुने गर्छ ।

विमानस्थलको विवरणानुसार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिक ९हेलिकोप्टरसहित तर्फ २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् ।

अठ्ठाइस मुलुकसँग द्विपक्षीय उडान सम्झौता भए पनि हाल १५ देशका २६ गन्तव्यका अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलले जनाएको छ ।

आन्तरिकमा तीन सय १९ र अन्तर्राष्ट्रियमा सय दैनिक उडान भर्दै आएको त्रिअविलाई उडान भार क्रमिक बढेकाले उडान व्यवस्थापनमा चुनौती थपिएको महाप्रबन्धक उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले हालै बाह्रबुँदे निर्देशन दिएका थिए ।

मन्त्री गिरीले विमानस्थलको तत्कालीन सुधारका लागि अन्तर्राष्ट्रिय विमानस्थललाई चौबिसै घन्टा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका थिए । रासस