संसद बैठक चार दिनका लागि स्थगितः १९ गते मनोनयन हुने प्रधानमन्त्रीको दाबी

सरकारको तयारीः पहिले नोमिनेसन अनि पहिलोचरणको चुनाव

काठमाडौं । संविधान संशोधन निर्णयार्थ प्रस्तुत गर्नका लागि आज डाकिएको संसद बैठक चार दिनका लागि स्थगित भएको छ ।

चार दिनसम्मको संसद बैठक स्थगितबारे बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख १९ गते स्थानीय तहको चुनावको मनोनयन हुने र त्यसले चुनावको वातावरण निर्माण गर्ने दाबी गरेका छन ।

आज बसेको संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग निर्वाचनबारे सरकारको तयारी बताउँदै प्रधानमन्त्री दहालले त्यस्तो दाबी गरेका हुन ।

उनले संविधान संशोधनको प्रस्ताव सदनबाट पाश नभए पनि मधेसी दलहरु स्थानीय निकायको चुनावमा सहभागी हुने विश्वास समेत प्रकट गरेका छन ।

पुर्व सांसद नथुनी चैधरीको निधनप्रति आजको संसद बैठकले शोक प्रस्ताव पारित गर्दै २१ गतेका लागि मिति तोकेको छ तर संसदमा पेश भएको संविधान संशोधन प्रस्तावबारे कुनै गृहकार्य नभएपछि अब राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्ला भन्ने धेरैको लागि चासो र चिन्ताको विषय बनेको देखिन्छ ।

स्थानीय निकायको निर्वाचनका लागि मनोनयन गर्नुअघि सरकारले सदनमा पेश गरेको संविधान संशोधन गर्ने तयारी भए त्यो विविध कारणले अहिले सम्भव नभएको भन्दै प्रधानमन्त्री दहालले अब पहिले मनोनयन दर्ता गर्ने र त्यसपछि निर्वाचनको वातावरण बनाउँदै सबंैलाई निर्वाचनमा सहभागि गराउने सरकारको मुख्य योजना रहेको बताए ।

प्रधानमन्त्री दहालले भने–‘सबैभन्दा पहिला नोमिनेसन गरेर पहिलोचरणको चुनावलाई सम्पन्न गर्ने वातावरण बनाउनका लागि हामी चार दिनसम्म संसद बैठक स्थगित गरेर त्यसको तयारीमा लागेका छौ । नोमिनेसनपछि चुनावको वातावरण बन्छ, र त्यसमा मधेसी मोर्चा पनि सहभागि हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।’

वैशाख ३१ गते निर्वाचन हुने बताउदै प्रधानमन्त्रीले भने–‘पर्सि नोमिनेसन हुन्छ, त्यसले सबै दलहरुलाई चुनावमा केन्द्रीत गराउछ । त्यसपछि २१ वैशाखमा संसद बैठक हुने भएको छ । तसर्थ मिडियाका साथीहरुले कुनै खालको कन्फ्युजन राख्न जरुरी छैन ।’

प्रधानमन्त्रीले निर्वाचनको वातावरण बन्ने विश्वास ब्यक्त गरे पनि पहिलो चरणको स्थानीय निर्वाचनको दिन आउन १३ दिन मात्र बाँकी भएको बेलासम्म मधेसी मोर्चा र असन्तुष्ट पक्षहरु सहमतिमा आउन नसकेकाले जनताहरु र पार्टीका नेता कार्यकर्ताहरु भने निर्वाचनको विषयमै अन्योल रहेका देखिन्छन ।