अमेरिकामा राष्ट्रपति ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन

ट्रम्पले सय दिनको समयसिमालाई महत्व नदिएको दावी

अमेरिका । अमेरिकामा हजारौँ मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तन सम्बन्धी नीतिहरुको विरोधमा प्रदर्शन गरिरहेका छन् । ती र्यालीहरुका युवादेखि वृद्धसम्म र बौद्ध भिक्षुदेखि अमेरिकाका रैथाने समूहहरु पनि सहभागी भएका छन् ।

जनताको जलवायु र्याली नाम दिइएको उक्त प्रदर्शन सांकेतिक रुपमा राष्ट्रपतिका रुपमा ट्रम्पको १०० औँ दिन पारेर आयोजना गरिएको हो ।

वासिङटनमा प्रदर्शनकारीहरुले ह्वाइट हाउसलाई घेर्ने योजना बनाएका छन् । तर त्यहाँ राष्ट्रपति ट्रम्प छैनन् बरु आफ्नो १०० दिनका अवसरमा समर्थकहरुलाई सम्बोधन गर्न पेन्सेलभेनिया पुगेका छन् ।

आयोजकहरुलाई उदृत गर्दै रोयर्टस समाचार संस्थाले वासिङटन डिसीमा मात्रै झण्डै १५ हजार मानिसहरुले र्यालीमा भाग लिइरहेको जनाएको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति ओबामाको वातावरण संरक्षणका नीतिहरु उल्टाइएकोमा विरोध गरिरहेका छन् । अभिनेता लिओनार्दो डिक्याप्रियो र पूर्व उपरराष्ट्रपति एल गोर सहितका चर्चित व्यक्तिहरु पनि ती र्यालीहरुमा उपस्थित हुने ठानिएको छ ।

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई छल भनेका छन् र यसअघिका आफ्ना पूर्ववर्तीका कयौँ वातावरण संरक्षणसँग सम्बन्धित नियमहरु उल्टाएका छन् ।

उनले जलवायु सम्बन्धी प्यारिस सम्झौताबाट पनि अलग हुने चेतावनी दिने गरेका छन् । उनले आफ्नो पहिलो एक सय दिनमा पूरा गर्ने कयौँ महत्वकांक्षी घोषणाहरु चुनावी अभियानमा व्यक्त गरेका थिए तर अहिले सय दिनको समयसिमालाई कम महत्व दिइरहेका छन् ।

पेन्सेलभेनियामा समर्थकहरुलाई सम्बोधन गर्न पुगेका ट्रम्पले अमेरिकी राष्ट्रपतिहरुले विगतमा त्यहाँ सहभागिता जनाउने गरेका सञ्चारकर्मीसँगको रात्रीभोजमा भने उपस्थित नहुने निर्णय गरेका छन् । एजेन्सी