काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

काठमाडौंकाठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ ।

१० वटा ब्रुमर खरिद गरिने
सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ ।

दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ ।

यसका लागि बढीमा चार महिना लाग्नेछ, कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ। यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।