प्रमुख दलहरुलाई उम्मेदवार छनोटमा सकस

लमजुङ । लमजुङमा यतिबेला समय घर्किएसँगै स्थानीय तह निर्वाचनको मिति पनि नजिकिदै गइरहेको छ । तर दलहलाई भने उम्मेदवारको चयन गर्न निकै सकस भएको छ ।

संविधानले परिकल्पना गरेको संघीय व्यवस्था अनुसार पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनका लागि उमेदवारका आकांक्षी धेरै भएपछि दलहरुलाई व्यवस्थापन गर्न निकै दवाव र तनाव परेको छ ।

उम्मेदवारको चयन गर्नका लागि बसेको नेपाली कांग्रेस लमजुङको वैठकले जिल्लामै उमेदवारको अन्तिम नाम टुंग्याउन नसकेपछि केन्द्रको सहयोग मागेको हो ।

नेकपा एमालेलाई पनि पनि उम्मेदवारको अन्तिम नाम टुंग्याउन ठूलै कसरत गर्नुपरेको छ । गाउँ तथा नगर समितिका इन्चार्जहरुले जिल्ला कमिटीमा उम्मेदवारबारे मौखिक जानकारी मात्रै गराएको र लिखितरुपमै जानकारी गराउन भनेकाले केही ढिलाई भएको एमालेका जिल्ला स्तरिय नेताहरु बताउँछन ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले पनि अझै आफ्ना उम्मेदवारको अन्तिम नाम सिफारिस गर्न सकेको छैन । वडाहरुबाट केही सामान्य सिफारिस गरेको भएतापनि सबैको नाम टुंग्याउन सकेको छैन ।

माओवादी केन्द्रकी जिल्ला संयोजक मधु अधिकारीले भनिन–‘हामीलाई आकांक्षीको व्यस्थापन गर्न खासै समस्या छैन । जिल्लाका सबै स्थानीय संरचनमा उम्मेदवारी प्रस्तुत गर्ने ढंगबाट प्रस्तुत भएपनि केही स्थानमा भने आपसी समझदारीका आधारमा अन्य दलहरुसँग मिलेर निर्वाचनमा जानु पर्ने हुनसक्छ । त्यसैले केही समय लागेको हो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।