उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता

काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५० जनाको सहभागिता रहेको अभियन्ता उमेश बोहराले राससलाई जानकारी दिए ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत संस्थाको संस्थागत सहभागिता थियो । पूर्वसचिव डा कृष्णचन्द्र पौडेलले सपथ खुवाएपछि सफाइ सुरु भएको थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ सुरु भएको १६८ औँ हप्तामा आज गोठाटार पुल मुनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले अयोजना गरेको सफाइमा २०० व्यक्तिको सहभागिता थियो ।

रुद्रमती सफाइको १६६ औँ हप्तामा आज रातोपुलबाट सेतोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियानको सहभागिता थियो ।

विष्णुमती सफाइको १३८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकामा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५०० जनाको सहभागिता थियो । रासस